डाडूँ पन्यू आफ्नै हातमा भएपछि …. नखाऊ भन्ने को छ र ?

भैरहवा । पशुपति शर्माको गीतलाई युटयुबाट हटाउन लगाइयो । गीत सुन्दा दैनिक जीवनमा देखिने दृश्य बाहेक अरु केही कुरा पनि बढाई चढाई गरेका छैनन्, पशुपतिले । तर जसलाई त्यो गीतले घोचपेच गर्यो, उसैको टाउको दुखाई भयो र अनि पशुपतिलाई ठूलै धम्की समेत दिइयो । यो देश सक्नेले गरी खानेको मात्र हो भन्ने नेपालीले बुझ्न त यस अघिका सयौँ घटनाबाट बुझि सकेको भएपनि आम सर्वसाधारणलाई अझै बुझ्ने मौका दियो ।

आफनो हात, जगन्नाथ भन्ने बुढापाकाले भन्ने गरेको सुनिन्थ्यो तर अहिले प्रत्यक्ष देख्न र भोग्न पनि पाउने अवसर मिल्न थालेको छ । प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलले आफ्नो जिल्ला दाङमा चालु आर्थिक वर्षमा मात्रै पार्क निर्माणका लागि करोडौँ रुपियाँ खर्च गर्ने योजना गरेर सात वटा पार्क निर्माण गर्न थाल्नुभएको छ । पोखरेलको गृह जिल्ला दाङमा सातवटा पार्क बन्दैछन् । प्रतिपार्क दुई करोड रुपियाँको लागतमा ती पार्क निर्माण हुन थालेका हुन् । दाङदेखि उकालो लागेर सल्यान, रुकुम, रोल्पा तिर लाग्दा करोडको योजना देख्न पाइदैन । जहाँ अभाव, अनिकाल छ, सडक छैन, खानेपानी छैन, त्यहाँ लाख रुपियाँको योजना पनि छैन । ती ठाउँमा लाखको बजेट छुट्याएर सडक, खानेपानीका योजना बनाए जनताले साँच्चिकै सिँहदरबार गाउँ गाउँमा आएको अनुभूत गर्थे होला तर १४ करोडको लागतमा लाग्ने सात वटा पार्क एउटै जिल्लामा बन्ने भएपछि कसको के लाग्छ, आफ्नै हातमा डाडू पन्यू, नखाउ भन्ने को छ र ? भन्ने उखान चरितार्थ भएको छ ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले मूख्य मन्त्रीको जिल्लामा सबैभन्दा बढी पार्क निर्माण गर्न थालिएको पुष्टि गर्दै वातावरण संरक्षणका लागि ती पार्कहरु निर्माण गरिने बताउनुभयो । उहाँका अनुसार रूपन्देहीमा दुई र बाँकेमा एक पार्कका लागि पनि दुई/दुई करोड रुपियाा रकम विनियोजन गरिएको छ ।

मूख्य मन्त्री, मन्त्री तथा अन्य राजनीतिक दवाव दिने नेताका जिल्लामा जुलोजिकल पार्कदेखि बोटानिकल गार्डेनसम्म बनाउने योजना छ । सबै भन्दा बढी रूपन्देही, दाङ र बाँकेमा त्यो रकम खर्च गरिनेछ । प्रदेश सरकारले बनाएको योजनामा बोटानिकल गार्डेन र पाल्पामा इको पार्क बन्नेछन् ।

त्यसका लागि १० लाखदेखि दुई करोड रुपियाँसम्म बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले पाल्पा र रूपन्देहीको सिमानामा रामापिथेकस जुलोजिकल पार्क निर्माण गर्दैछ । उक्त क्षेत्रको पूर्वाधार विकासका लागि भन्दै थप ३० लाख रुपियाँ रकम विनियोजन गरिएको छ ।

पाल्पाको मुख्य पर्यटकीय क्षेत्र रानीमहलमा इको पार्कका लागि मूख्यमन्त्रीले जम्मा २० लाख रकम विनियोजन गर्नुभएको छ । पाल्पाकै सहिद चुनमाया पार्कको गुरुयोजना बनाउन १० लाख, बर्दियामा सतखलुवा तालछेउमा पार्क, पिकनिक स्पट र भ्यु–टावर निर्माणका लागि १० लाख, दाङको बिजुवार क्षेत्रमा पार्क र पिकनिक स्पट निर्माणमा ५० लाख र श्रीकृष्ण मन्दिर धार्मिक वन क्षेत्र उद्यानका लागि २० लाख रुपियाँ बजेट छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here