नन्दन तालको संरक्षण तथा सौन्दर्यीकरण गर्दै

परासी । पश्चिम नवलपरासीस्थित ऐतिहासिक नन्दन तालको संरक्षण र सौन्दर्यीकरणमा स्थानीयवासीले अवरोध गरेका छन् ।

लामो समयदेखि अतिक्रमणमा परेर अस्तित्व नै सङ्कटमा परेको यो ताललाई पुनः जीवन दिने गरी संरक्षण र सौन्दर्यीकरण गर्न थालिएको हो । तर स्थानीयवासीले अवरोध सिर्जना गरेका छन् ।

पाल्हिनन्दन गाउँपालिका–६ मा पर्ने सो ताल लामो समयदेखि स्थानीयवासीले अतिक्रमण गरी खेती गर्दै आएका छन् । ताल पूरै खेतीयोग्य जमीनमा परिणत भएकाले त्यहाँ पानी छैन । स्थानीयवासीले त्यहाँ लामो समयदेखि खेतीपाती गर्दै आएकाले खेती गर्न पाउनुपर्ने माग राखेर ताल संरक्षण गर्न नदिएको वडाध्यक्ष कृष्णचन्द्र यादवले बताउनुभयो ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले सो तालको संरक्षण र सौन्दर्यीकरण गरी पुनः जीवन दिने भन्दै काम थालेको थियो । रु ४१ लाखको लागतमा पहिलो चरणमा तालको पानी रोक्न चारैतिर बाँध निर्माण गरी चक्रपथ निर्माण गर्ने, पानी रोक्न एक ठाउँमा पुल र फाटक तथा एक कुनामा कल्भर्ट बनाएर तालमा पानी जम्मा हुने गरी संरचना निर्माण गर्न लागेको समितिले जनाएको छ ।

उक्त कामको जिम्मा नवीन कन्सट्रक्शन बर्दघाटले पाएको छ । उक्त कम्पनीले मङ्गलबारबाट काम शुरु गर्न खोज्दा स्थानीयवासीले काम गर्न नदिएको निर्माण कम्पनीका सञ्चालक नवीन ज्ञवालीले बताउनुभयो । चालू आव २०७५/०७६ को बजेट भएकाले काम नभए बजेट फिर्ता जान्छ । ताल संरक्षण गर्दै पर्या–पर्यटनको विकास गरी स्थानीयवासीको आयआर्जनमा समेत टेवा पु¥याउने गरी काम शुरु गर्न लागिएको समितिले जनाएको छ ।

स्थानीयवासीको मागको विषयमा जिल्ला समन्वय समितिको सहकार्यमा स्थानीयवासी, राजनीतिक दल, प्रशासनलगायतसँग बृहत् छलफल गरी समाधान खोज्ने प्रयास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले बताउनुभयो ।

तालको संरक्षणका लागि गाउँपालिकाले पनि पहल गरिरहेको छ । तालको बृहत्तर विकासका लागि गुरुयोजना निर्माणको काम अन्तिम चरणमा रहेको पनि पौडेलले जानकारी दिनुभयो । सो तालको संरक्षण आवश्यक देखिएकाले गाउँपालिकाले गुरुयोजना बनाएर काम शुरु गरिएको गाउँपालिका अध्यक्ष दीपक गुप्ताले बताउनुभयो ।

तालको संरक्षण र सौन्दर्यीकरण गरिएपछि आसपासमा घरबास सञ्चालन गर्ने, पार्क निर्माण तथा डुङ्गा शयर गर्दै पर्या–पर्यटनको विकास हुने गरी काम गर्ने योजनाका साथ गाउँपालिकाले पहल गरिरहेको अध्यक्ष गुप्ताले बताउनुभयो ।

पौराणिक किंवन्दीअनुसार भगवान् कृष्णले आफ्नो नारायणी सेना लगाएर सो ताल खनेका थिए । बुद्धकालमा पनि भगवान् गौतमबुद्धका अग्रश्रावकसमेत रहेका उहाँका भाइ भिक्षु आनन्दको नामसँग समेत तालको इतिहास जोडिएको पाइन्छ । रामग्राम नगरपालिकाको समेत केही भाग ओगट्ने सो ताल करीब ३४ बिघा क्षेत्रफलमा फैलिएको छ । लामो समयदेखि केही स्थानीय व्यक्तिले तत्कालीन जिविसबाट तालको नाममा बजेट लिए पनि संरक्षणको कुनै काम नगर्दा तालको अस्तित्व नै मेटिएको पाल्हिनन्दन–६ का वडाध्यक्ष कृष्णचन्द्र यादवले बताउनुभयो ।

केही व्यक्तिले ताल अतिक्रमण गरी जग्गाधनी पूर्जा बनाउने प्रयास गरे पनि सोबारे मुद्दा परेपछि सर्वोच्च अदालतले तालको जग्गालाई पूर्जा दिन नमिल्ने गरी फैसला गरिदिएका कारण जग्गा जोगिएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here