डुम्रे–बन्दीपुर सडक फराकिलो बनाइँदै

तनहुँ । तनहुँको प्रमुख पर्यटकीयस्थल बन्दीपुर पुग्नको लागि पर्यटकलाई सहज हुनेगरी डुम्रे बन्दिपुर सडक खण्ड फराकिलो बनाउन थालिएको छ । यात्रा सहज बनाइ पर्यटक वृद्धि गर्नको लागि गाउँपालिकाले पिप्ले–बन्दीपुर खण्डको सडकलाई फराकिलो पार्ने काम शुरु गरेको हो ।

सडक साँघुरो हुँदा दुईतर्फी सवारी साधान सहज रुपमा आवतजावत गर्न गारो भएकोले सडक फराकिलो पार्ने काम शुरु गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो । “सडक फराकिलो पार्न थालिएसँगै पर्यटन व्यवसायी खुशी भएका छन्”, उहाँले भन्नुभयो, “यो सडक खण्ड पिच गरिएको भए पनि धेरै घुम्ती र साँघुरो भएकोले सवारी साधन चलाउन गाह्रो थियो ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद कृष्णकुमार श्रेष्ठ किसानले रु ३० लाख बजेट विनियोजन गर्नुभएकाले सोही रकमबाट सडकको घुम्ती सुधारको काम भइराखेको गाउँपालिकाले जनाएको छ ।

बन्दीपुर गाउँपालिका–१ र २ मा पर्ने घुम्ती सुधार कार्यक्रम अन्तर्गत काम शुरु गरिएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

बन्दीपुरमा अत्यधिक पर्यटकको चाप बढेको छ । पर्यटक चापसँगै धेरै सवारी साधन गुड्ने भएकोले बाटो फराकिलो बनाउने काम गरिएको हो । यसपछि पर्यटक अझै बढ्ने गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत शुकदेव लम्सालले जानकारी दिनुभयो । अपुग रकम गाउँपालिकाले खर्च गर्ने गरी काम तीव्र पारिएको लम्साल बताउनुहुन्छ ।

सडक खण्डमा साना र ठूला गरी करीब ६० घुम्ती रहेको पिप्ले–बन्दीपुर मोड सुधार उपभोक्ता समितिका अध्यक्ष जीवन कायस्थले जानकारी दिनुभयो । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत प्राप्त रकम अपुग भएकाले २८ वटाको मोड सुधार गर्ने लक्ष्य छ । उहाँका अनुसार १४ ठाउँमा मोड सुधार गरिएको र बाँकीको फराकिलो पार्ने काम पनि यसै महीना पूरा गर्ने गरी काम तीव्र पारिएको छ ।

करीब आधा दर्जन मोडमा चट्टान रहेकाले रकम अपुग हुने समितिले जनाएको छ । समितिका अनुसार बढी अप्ठ्यारो भएको मोडलाई प्राथमिकता दिएर फराकिलो पारिएको छ । गाउँपालिकाले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएकोले मोड सुधारको काम शुरु गरिएको गाउँपालिका प्रवक्ता तथा वडा नं– १ वडाध्यक्ष भानुभक्त पोख्रेलले बताउनुभयो ।

मोड सुधारको कामले बन्दीपुरवासीमा खुशी छाएको बन्दीपुर पर्यटन व्यवसायी सङ्घका अध्यक्ष बैस गुरुङ बताउनुहुन्छ । ‘ट्राभल एजेन्सीका सञ्चालकबाट सडक साँघुरो भएकोले ठूला बस सञ्चालन गर्न कठिनाई भएको गुनासो हामीलाई आउने गथ्र्यो’ अध्यक्ष गुरुङले भन्नुभयो, “बाटो फराकिलो बनेपछि पर्यटक धेरै बढ्छन् ।”

बन्दीपुर सामुदायिक होमस्टेका पूर्व अध्यक्ष राजु बानियाँ बन्दीपुरमा दिनप्रतिदिन पर्यटक वृद्धि हुँदै गएकोले फराकिलो पारिनु अपरिहार्य भएको बताउनुभयो । यो सडक खण्ड खण्ड केन्द्र विन्दुबाट हाल पाँच÷पाँच मिटर मात्रै छ । यसलाई सुधार गरेर आठ÷आठ मिटर बनाइने कामको शुरुवात गर्ने निर्णय गाउँपालिकाले गरेको छ ।

गाउँपालिकाले एक सूचना प्रकाशित गरी सडकको केन्द्रबाट आठ÷आठ मिटर क्षेत्रभित्र निमार्ण भएका घर, गोठ, पसल, घुम्तीलगायत भौतिक संरचना १५ दिनभित्र हटाई गाउँपालिकाको समृद्धि तर्पmको यात्रामा सहयोग पु¥याउन सरोकारवालासँग आग्रह गरेको छ । साथै नहटाइएमा कानून बमोजिम हुने उल्लेख छ ।
पहाडकी रानी उपनाम कमाएको बन्दीपुर तनहुँको प्रमुख पर्यटकीय गन्तव्य हो । बन्दीपुरबाट विभिन्न हिमशृङ्खलाका साथै हरिया फाँट, तरेली र पहाडका खोचमा रहेका सुन्दर बस्ती देख्न सकिन्छ ।

बन्दीपुरको मूख्य आर्कषणमा नेवारी कला र संस्कृति, दोहोरो लाइन मिलाएर बनाइएका प्यागोडा शैलीका कलात्मक घर, ढुङ्गा विच्छाइएका बाटो, विभिन्न मठ मन्दिर छन् । बन्दीपुरलाई गण्डकी प्रदेश सरकारले ग्रामीण पर्यटनको पहिलो गन्तव्यको रुपमा सूचीकृत गरेको छ ।

सूचीकृत गरेसँगै बन्दीपुर आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । वार्षिक झण्डै तीन लाख पर्यटक बन्दीपुरमा आउने गरेको बन्दीपुर गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here