हावा हुरीको बितण्डा, कम्तिमा दुईको मृत्यु, २०० घाइते, करोडौंको क्षती (फोटो फिचर)

धनगढी । बिहीवार साँझ एक्कासी आएको हावाहुरीले गर्दा दुई जनाको ज्यान गएको छ भने करोडौँ रुपियाँ बराबरको क्षति भएको छ ।

साँझ एक्कासी हावा हुरी चल्दा मानिसहरु घर फर्किन क्रममा बाटोमै घाइते भएका छन् । कतिपय व्यक्तिहरु हवाले उडाएर ल्याएको वस्तुले समेत चोट लागेर घाइते भएका छन् । कैलालीमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा टिकापुर नगरपालिकाका लाहनु चौधरीको मृत्यु भएको छ । बाटोमा हिड्दै गर्दा पर्खाल भत्केर चौधरीको मृत्यु भएको हो । त्यसैगरी गोदावरी नगरपालिका बीरबहादुर चौधरीको मृत्यु भएको छ ।

कैलालीमा एक सय जना भन्दा बढी घाइते भएका छन् भने कञ्चपुरमा ७० जना भन्दा बढी घाइते भएको कञ्चनपुर प्रहरीले जनाएको छ । सामान्य घाइतेलाई सेती अञ्चल अस्पतालाम उपचार भइरहेको छ भने गम्भीर घाइते पाँच जनालाई बरेलीतर्फ र १० जनालाई नेपालगञ्ज रिफर गरिएको छ ।

हावाहुरीका कारण भएको धनजनको क्षति विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ । बिजुली खम्बा भाँचिएको, ठाउँ ठाउँमा रुढ ढलेका कारण विद्युत् सेवा ठप्प छ भने कतिपय क्षेत्रका सडकमा आवागमन अबरुद्ध भएको छ । हावाहुरीमा फसेका र घाइतेको उद्धारमा तत्काल नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली परिचालित भएको थियो ।

यसैगरी कञ्चनपुरको बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा गरी हावाहुरीका कारण २३ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको सेती अञ्चल अस्पताल कैलालीमा उपचार भइरहेको छ । तीमध्ये एक जना सख्त घाइते छन् । अन्य १५ जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।

ठाउँ ठाउँमा बिजुलीका पोल ढलेका कारण विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लाको दक्षिण क्षेत्र जोड्ने बेलौरी–कलुवापुर सडकका ठाउँठाउँमा रुख ढलेका कारण यातायात अवरुद्ध छ । त्यसैगरी डडेल्धुराको जोगबुडा जोड्ने दैजी–जोगबुढा सडक पनि अवरुद्ध छ ।

जस्तापाता, टायल र खरका छाना भएका घरका छाना उडाएका कारण ठूलो क्षतिभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हावाहुरीका कारण जिल्ला कारागार शाखा महिला युनिटको भान्साको छाना उडाएको छ भने जिल्ला अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here