न्याय मरेन वन अधिकृतको: फन्दामा परे हत्यारा

काठमाडौँ । तत्कालिन पर्सा जिल्ला वन अधिकृत तुलसीभक्त प्रजापतिकी श्रीमति बिजेश्वरी प्रजापतिको हत्यारालाई हत्या भएको झण्डै २० वर्षपछि नेपाल प्रहरीले समात्न सफलभएको छ ।

तत्कालिन जिल्ला वन अधिकृत तुल्सीभक्त प्रजापतिकी ३३ वर्षीया श्रीमति बिजेश्वरी प्रजापतिको हत्या गर्ने जिल्ला वन कार्यालयका सवारी चालक कास्की जिल्ला घर भएका प्रकाश अधिकारीका नामले चिनिने देबीरमण अधिकारीलाई भारतबाट नेपाल आउन थालेका बेला रुपन्देहीको बेलहिया नाकाबाट नेपाल प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी ) का अनुसार निज हत्यारा तत्कालिन पर्सा जिल्ला वन अधिकृत तुल्सीभक्तका सवारी चालक थिए । लामो समय सवारी चलाएको अधिकारीले तुल्सीभक्तको घरका आनीबानी व्यवहार सबै थाहा पाएका थिए । पर्साबाट तुल्सीभक्त हेटौडामा सरुवा भएपछि अधिकारीको जागिर खुस्कियो तर पनि असल स्वभावका तुल्सीभक्तले आफ्नो घरमा काम गर्नेको रुपमा अधिकारीलाई राखेका थिए ।

व्यवहारले अलि कडा स्वभावका बिजेश्वरीका कारण अधिकारीले धेरै दिन उनको घरमा काम गर्ने वातावरण बनेन । अधिकारीले आफ्नो तलब मागेर घर छाड्ने कुरा राखे । भक्तपुर कटुन्जे निवासी प्रजापतिले सात महिनाको तलब ११ हजार रुपियाँ दिनुपर्ने अधिकारीको माग थियो । तर उनले धेरै पटक प्रजापतिको घर धाउँदा आफ्नो तलब पाउन नसकेको र रिसले हत्या गरेको प्रहरी समक्ष बयान दिएको छ ।

उदार र दयाभावका तुलसीभक्त घरमै भएको भएपनि यो घटना हुने थिएन । श्रीमति बिजेश्वरीले पटक पटक तलब नदिएपछि एक दिन रिसको झोकमै गएर अधिकारीले प्रजापतिको घर कटुन्जे पुगेर रकम माग्न थाले । तर पनि बिजेश्वरीले रकम नदिएपछि घरेलु हतियार प्रयोग गरेर उनको हत्या गरी उनको गर गहना लगेर अधिकारी भागेका थिए । त्यस बेला तुलसीभक्त हेटौँडामा रहेको थाहा भएको छ ।

साना नानीबाबु स्कुलगएका बेला हत्या भएकाले दिनभर हत्याका बारेमा कसैलाई थाहा नभएको प्रहरीले बताएको छ । केटाकेटी स्कुलबाट घर फर्केपछि साँझ मात्र बिजेश्वरीको हत्याभएको थाहा भएकाले त्यति बेला सम्म अधिकारी काठमाडौँबाट बिरगञ्जको बसमा चढेर सीमापार भइसकेको प्रहरीले बताएको छ ।

झण्डै २० वर्ष सम्म भारतमै लुकेर बस्ने, कहिले काँही दशैँ तथा तिहारमा घर आउने जाने गरेको अधिकारीको बारेमा नेपाल प्रहरीले लामो समयदेखि खोज नीति गरिरहेको थियो । उसको घर आउने बेला पर्खि रहेको नेपाल प्रहरीले सीमा क्षेत्रबाट घर नपुग्दै पक्राउ गरेको छ । अब भक्तपुर जिल्ला अदालतमा ज्यानमारा मुद्धा दर्ता गर्ने तयारी गरिरहेको छ ।

लामो समयसम्म पीडित भएको प्रजापति परिवारले बल्ल न्याय पाउने संकेत देखिएको छ । प्रजापति परिवारले उचित न्याय पाउन, हत्यारा नछुटुन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here