बाजुरा । बाजुरा जिल्ला भएर बग्ने बुढीगंगा नदी माथिको पहिरो बग्दा नदी थुनिने अवस्थामा पुगेको छ । नदी थुनिने क्रमसँगै बाजुरा, अछाम जिल्लाका ९ वटा स्थानीय तहका करिब दर्जनभन्दा बढी बस्ती जोखिममा परेका छन् ।
नदी किनार भएर जाने सडकमाथि पहाडको टुप्पोबाट पहिरो बग्दा बिहीवार सडक यातायात समेत अवरुद्ध भएको छ । सडक कार्यालयको डोजरले सडक पहिरो पन्छयाउने प्रयास गरेपनि लगातार वर्षा हुँदा सडक खोल्ने कार्यमा सफलता हासिल हुन सकेको छैन ।

पहिरोले नदी थुनिएमा बाजुरा जिल्लाको विशालबजार, ताप्रिसेरा, अछामको बुढाबगर, पिपलसैन, राउतेला, गैरा, पन्धारागाउँ, फल्नेतोला, पन्ताली, ढडाली, बाँगापाटा, कालापानी, गिरीवाडा, नेपालीटोल, ताम्सु, नुवाकोट बस्तीलाई असर पर्ने देखिएको छ ।
जिल्लाको त्रिबेणी नगरपालिका ९ पैमा गाउँको तल्लो क्षेत्रबाट पहिरो झर्दा बस्तीलाई नै असर पर्ने भएको त्रिबेणी नगरपालिका नगर प्रमुख रामसिहं रावलले जानकारी दिए ।
नदी थुनिने खतरासँगै खेतियोग्य जमिन, झुलंगे पुल र साँफे मार्तडी सड्क खण्ड डुवानमा पर्ने भएको छ ।
पूर्वमन्त्रीद्धारा सचेत रहन आग्रह

नेकपाका नेता तथा पूर्वमन्त्री लेखराज भट्टले बुढीगंगा नदी थुनिँदा हुन सक्ने जोखिमबाट बच्न आपपासका बासिन्दालाई आग्रह गरेका छन् भने सरकारलाई सम्भावित विपद्प्रति आवश्यक बन्दोबन्दी मिलाउन अनुरोध गरेका छन् ।
उनले आफ्नो फेसबुट स्टाटसमा भनेका छन्, बाजुरा, अछाम, डोटी, कैलाली, सुर्खे र बर्दियासम्म नदी थुनिँदाको असर पर्न सक्छ । त्यसैले तल्लो तटीय क्षेत्रमा ठूलो विपद् आउन सक्ने तर्फ आम सर्वसाधारणलाई सचेत रहन र सरकारले आवश्यक तयारी गर्न आग्रह गर्दछु ।
