भारत र चीन जोड्ने सडकको ट्रयाक खुल्यो

काठमाडौँ । भारत र चीनसँग जोड्ने काली गण्डकी करिडोर सडकको ट्रयाक खुलेको छ ।

पारवहन र व्यापारिक हिसाबले निकै महत्वपूर्ण मानिएको छिमेकी मुलुक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको ट्र्याक खुलेपछि अब यो सडकको स्तरोन्नती गर्ने काममा बाँकी रहेको छ । सो सडकलाई फराकिलो बनाउने र कालोपत्र गर्ने कार्यलाई पनि सरकारले जारी राखेको छ ।

सडक विभागका अनुसार छोसेरदेखि कोरला नाकाको २४ नम्बर पिलरसम्मको १६ किलोमिटर सडक स्तरोन्नतिको काम सम्पन्न भइसकेको छ । बेनी–जोमसोम सडक नालीसहित ११ किलोमिटर फराकिलो र कालोपत्रे सहितको काम यसै आर्थिक वर्षभित्र गरिसक्ने लक्ष्य राखिएको छ । जोमसोम–कोरला सडक ११ मिटर चौडा हुनेछ र नाली, ग्याबिन पर्खाल, मेशिनरी पर्खाल निर्माण र ग्राभेल बिछ्याइने छ । तीन वर्षदेखि सञ्चालनमा रहेको यस आयोजनाले आगामी २०७७ असारसम्म सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

पक्की पुल बन्दै

‘‘बर्खायाममा बाढी पहिरो र कटानका कारण सडकको काम केही सुस्ताएको थियो, मङ्सिरदेखि सडक फराकिलो बनाउने लगायतका कामले तीब्रता पाएको छ, समय तालिका बनाएर यातायातका साधन आवागमनलाई व्यवस्थित गरेर काम गरिरहेका भइरहेको विभागले जनाएको छ ।

कुल साढे ७ अर्ब लागत अनुमान गरिएको यस आयोजनामा १ अर्ब ७५ करोडको ठेक्का लगाउने काम बाँकी छ । बेनी–जोमसोम सडकका लागि विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर वि सं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको थियो ।

भैरहवा–सुनौली नाकाबाट शुरु भएको कालीगण्डकी करिडोरको सडक बुटवल, पाल्पा, गुल्मी हुँदै बागलुङसम्म ल्याइएको छ भने म्याग्दीको बेनीबाट मुस्ताङको कोरलासम्म र बेनीदेखि पर्वत हुँदै र बेनीदेखि सिधै बागलुङसम्म यस अघि नै सडक निर्माण भैसकेको छ । यस सडकको कुल लम्बाइ ४३५ किलोमिटर रहेको छ । यो करिडोर व्यापारिक मार्ग सञ्चालनमा आए सँगै यस क्षेत्रमा चिनियाँ र भारतीय पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ ।

कोरला नाकासम्मको सडक खण्डमा विभिन्न ३२ ठाउँमा पक्की पुल निर्माण गरिने भएको छ । कालिगण्डकी नदी र यसका सहायक साना–ठूला नदीहरुमा पुल निर्माण गर्नुपर्ने स्थानहरुमध्ये डोलिडारले जोमसोमस्थित कालीगण्डकी नदीमा पुल निर्माण सम्पन्न गरिसकेको छ । चैलेस्थित कालीगण्डकी नदीमा पक्की पुल निर्माण भैरहेको छ । यो करिडोरमा निर्माण हुने २८ वटा पुल मध्य १२ स्थानमा अहिले पुल निर्माण कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here