काठमाडौँ । बा २ झ ३८५ को नभारा गाडीमा सवार वन अधिकृत भक्तबहादुर लामाले संरक्षणप्रति ओतप्रोत भएर एउटा फेसबुट स्टाटस के लेखेको थिए, कमेन्टको ओइरो लाग्यो । ती कमेन्टको बीचमा एउटा यस्तो टिप्पणी आएको थियो, जुन टिप्पणीले भक्त लामालाई पछयाइ राखेको जस्तो भान हुन थालेको छ । त्यो टिप्पणी थियो, न लप्पन, न छप्पन, न कसैको डर न कसैको भय, तर गल्ती गरेर काम गर्ने व्यक्ति एक दिन बचेपनि कुनै न कुनै दिन फस्छ, फस्छ ।
यो टिप्पणी वन सेवामा भन्दा बाहिरको मानिसले गरेको थियो । सायद ती व्यक्तिको डिएफओ लामा प्रतिको असन्तुष्टि थियो, लामाले काम गर्ने दौरानमा ती व्यक्ति कुनै न कुनै रुपमा पीडित भएका थिए होलान् ।
लामालाई नजिकबाट चिन्नेहरु भन्छन्, यो टिप्पणी लामाको जीवनमा शुक्रवार नै कसरी मिल्न गयो ? ती व्यक्तिले जे भनेका थिए, ठ्याक्कै मिल्यो । सेवा निवृत्त हुन करिब डेढ वर्ष अगाडी लामा अख्तियारको फन्दामा परेका छन् ।
शुक्रवार लामा निकै उत्साहित देखिएका थिए । किन हो कुन्नि ? बिरेन्द्रनगरस्थित वन कार्यालयका एक जना कर्मचारी भन्छन्, डिएफओ साफ आज सधैँ भन्दा निकै खुसी देखिनुहुन्थ्यो । जागिरे जीवनको उत्तरार्धमा पुगेका बारा निजगढमा प्रशस्त सम्पत्ती जोड्न सफल लामा पछिल्ला दिनमा लप्पन छप्पनमा त्यति मन दिदैनथे रे ।
लामाले आफ्नो फेसबुकमा जुलाई १२, २०१८ मा नारायण पराजुलीको एउटा प्रवचन शेयर गरे । र त्यहाँ लेखिएको थियो, जीवनमा रचनात्मक परिवर्तनका लागि यो भिडियो पुरै हेर्नुहोला । त्यसको केही समयमै वन विज्ञान हेटौडाका सहपाठी अर्काे वन अधिकृतले पोष्ट गरे, भक्त तिम्रो जीवनमा कहिले आउने होला परिवर्तन ? निजगढको प्रशस्त सम्पत्तीले तिमीलाई कहिल्यै शान्ति दिएन है । तर त्यो टिप्पणी धेरै समय टिक्न सकेन । ती सहपाठीले डिलेट गरे । यो टिप्पणी पनि डिएफओ लामासँग मन नमिल्ने सहपाठीको थियो तर सभ्य भाषामा आएको थियो ।
लामाको छोरा भएरै होला खानपानमा कहिले छुपे रुस्तम हुने त कहिले दिल खुस मन चंगा हुने बानी थियो उनको । एमाले निकट लामासँग जग्गा प्लटिङको राम्रो अनुभव थियो र काठको नापजाँचको नहुने कुरै भएन ।
उनीसँग बारा, पर्सामा लामो समय काम गरेका एक जना वन अधिकृतले लामाका बारेमा शुक्रवार नेपालकथासँग भने, तलब त सबैको उस्तै हो । तर कमाउन जानैकै मान्छे हो ऊ । वन विभागभित्र राम्रै कमाउँदा पनि सबैको नजरमा नपरेको व्यक्ति लामा पनि एक हो । पैसोको सदुपयोग राम्रै गरेको थियो उसले । जग्गामा लगानी गरेका लामाको कमाई उच्च स्तरको थियो, किन फसेछ आज ?
बिहीवार लामालाई बाँके घर भएका एक काठ व्यापारीले शुक्रवार भेट्न आउँदैछु भनेर फोन गरेका थिए । डिएफओ लामाले टेलिफोनमा सबै कुरामा सहमति त जनाएका छैनन् तर आउनुहोस् पहिले यता अनि बसेर कुरा गरौला सम्म भनेका छन् ।
बिहीवार नै सुर्खेत पुगेका ती ठेकेदारले साँझ ५ नबज्दै अख्तियारको कार्यालय पुगेर डिएफओ लामाका बारे सबै कुरा भनिसकेका थिए । अख्तियारले लामालाई बुझाउन ल्याएको रकमको फोटो खिचिसकेको थियो र शुक्रवार बिहाना डिएफओ लामालाई भेट्ने कुरा समेत अख्तियारले जानकारी लिइसकेको थियो । अख्तियार स्रोतका अनुसार बिहीवार साँझ कार्यालय समय अघि लामालाई अख्तियार कार्यालयबाटै अर्काे पटक काठ ठेकेदारले फोन गरेका थिए । र फोनमा शुक्रवार बिहान भेट्ने कुरा मिलेको थियो ।
शुक्रवार बिहान लामाले काठ ठेकेदारलाई कार्यालय समय अघि भेट्ने भनेको पनि स्रोतले बताएको छ तर लामासँग ती ठेकेदारको भेट ११ बजेमात्र भएको थियो ।
डिएफओ लामाले ती ठेकेदारलाई शुक्रवार आफ्नो कार्यकक्ष बाहिर १० मिनेट जति कुराएका थिए । बिहानको नियमित काम सकिएपछि मात्र लामाले ती ठेकेदारलाई प्रवेश गराएका थिए । ठेकेदारसँग सादा पोशाकका प्रहरी र अख्तियारका कर्मचारी समेत रहेका थिए ।
वन अधिकृत ईश्वरी पौडेल बाँकेको जिल्ला वन अधिकृत हुँदा ती ठेकेदारसँग निकै राम्रो हिमचिम भएको बताइएको छ ।
अख्तियारले बयान लिँदै
अख्तियारको टोलीले लामाकै कार्यकक्षमा कर्मचारी र काठ ठेकेदारको रोहवरमा बयान र रकम बरामदी मुचुल्का तयार पारिरहेको छ । दिउँसो २ः३० बजेसम्म मुचुल्का तयार भइसकेको छैन । वन कार्यालय बाहिर स्थानीय पत्रकारहरु जम्मा भएका छन् । घटनाको विस्तृत विवरण मुचुल्का तयार भएपछि दिने बचन अख्तियार अधिकारीले दिएको हाम्रा समाचारदाताले जनाएका छन् ।