सोमबारदेखि आइकाओ हवाई महानिर्देशकको सम्मेलन

काठमाण्डौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन सोमबारदेखि काठमाडौँमा शुरु हँुदैछ ।

सोल्टी होटलमा पाँच दिनसम्म चल्ने सम्मेलनमा एशिया प्रसान्त क्षेत्रका देशको सहभागिता रहने आयोजक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम छ । सम्मेलनमा ३९० विदेशी (उच्च अधिकारी) को सहभागिता रहनेछ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्राधिकरणले जनाएको छ ।

सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका सम्बन्धित देशका हवाई महानिर्देशकले सहभागिता जनाउनेछन् । आइकाओका अध्यक्ष, सुरक्षा अधिकारीलगायतको पनि सम्मेलनमा सहभागिता हुनेछ ।

उच्च तहका विदेशी अधिकारीको ठूलो जमघट हुने सम्मेलनको आफ्नै महत्व रहेको बताउँदै महानिर्देशक पोखरेलले उड्डयन क्षेत्रमा विभिन्न किसिमका टिप्पणी भइरहेको सन्दर्भमा नेपालको उड्डयन तथा पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्न सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

यस्तो सम्मेलन हरेक देशले पालैपालो गर्ने गर्छन् । आइकाओमा नेपालसहित १९३ सदस्य राष्ट्र छन् । आइकाओ स्थापनाको ७५औँ हीरक वर्षका अवसरमा नेपालमा तेस्रो पटक सम्मेलन हुन लागेको हो । यसअघि सन् १९७६ मा पहिलो र सन् १९९८ मा दोस्रो पटक सम्मेलन भएको थियो । यसै वर्षको वसन्त ऋतुमा आइकाओको हीरक झण्डा सगरमाथामा फहराइएको थियो ।

एशिया प्रशान्त क्षेत्रका अमेरिका, बेलायत, फ्रान्स, युरोपेली सङ्घ, जापान, बोइङ, एयरबस, इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएशन ९आयोटा०लगायत अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहभागिता रहने महानिर्देशक पोखरेलले बताउनुभयो । सम्मेलनमा एशिया प्रशान्त क्षेत्रको उड्डयनको ‘सेफ्टी’, ‘सेक्युरिटी’, प्राविधिक क्षमता अभिवृद्धि, पूर्वाधार विकासलगायत विषयमा छलफल हुनेछ ।

आगामी अक्टोबर महीनामा आइकाओ मुख्यालय मन्ट्रियलमा हुने आइकाओ ४०औँ महासभामा अहिलेको सम्मेलनको निष्कर्षलाई प्रस्तुत गरिने प्राधिकरणका महानिर्देशक पोखरेलले बताउनुभयो । यो सम्मेलन अघिल्लो वर्ष फिजीमा भएको थियो भने नेपालपछि बङ्गलादेशमा आयोजना हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here