तेलेको लेकसम्म बाघ पाइन्छ !

काठमाडौँ । गत हप्ता डडेल्धुरा जिल्लास्थितको महाभारतको जंगलसम्म बाघ भेटिएको सूचना सार्वजनिक भयो । जहाँ बाघ क्यामरामा कैद भयो, त्यस भूभागको उचाई समुन्द्री सतहबाट २,५०० मिटर रेकर्ड गरिएको छ ।

प्रा.करनबहादुर शाह यो कुरालाई पछिल्लो चरणमा बाघको बासस्थान सुधारमा निकै ठूलो परिवर्तन आएकोले बाघ त्यहाँ देखिएको बताउन्छन् । उनका अनुसार महाभारतमा क्षेत्रमा मात्र होइन, अध्ययन अनुन्धान गर्ने हो भने डडेल्धुराको साहुखर्क देखि डोटी जिल्लाको तेलेको लेकसम्म बाघ देखिन सक्छ ।

प्रा. करन शाह

२०१७ सालतिर साहित्यकार तारानाथ शर्मा सुदूरपश्चिमतिर बरालिँदा उनले ‘घनघस्याको उकालो’ निबन्ध लेखेका थिए । त्यो निबन्धमा पानीको स्रोतको अभाव, उकाली ओरालीमा तिर्खा लाग्दो गला भिजाउनका लागि पानीको एक÷ एक थोपाको महत्वसँगसँगै बाटोमा बाघको पाइला देखिने गरेको कुरा उल्लेख गरेका छन् । हुन त डा. शर्मा प्राविधिक होइनन्, उनले बुढापाकाले भनेको कुरा र बाटोमा आफुले देखेको वन्यजन्तुको पदचापलाई हेरेर निबन्धमा बाघको प्रसङ्ग कोट्याएका छन् ।

जुलोजीका प्राध्यापक प्रा. शाहले नेपालकथासँग भन्नुभयो, महाभारत मात्र होइन, आजभन्दा ५०/६० वर्षपहिलेसम्म डडेल्धुरा र डोटी जिल्लाको बीच भागमा पर्ने घण्टेश्वरको जंगल र तेलेको लेक आसपासमा भैँसी खर्कमा बाघ पसेको घटना अहिले पनि सुन्न पाइन्छ । प्रा. शाहको जन्मथलो डडेल्धुरा जिल्ला हो ।

शाहले भने, हामी सानो छदा गाउँका मानिसले बाघको शिकार गरेको र झारल, घोरल, चित्तल र बाघ लगायतका वन्यजन्तुका छाला शौखका लागि घर, घरमा राखिएका हुन्थे । तत्कालिन अवस्थामा शिकार खेल्ने कामलाई प्रतिवन्ध लगाइएको थिएन ।

पहिले घर घरमा बन्दुक राखेका हुन्थे, काम नभएपनि बन्दुक निकालेर जंगल पस्ने शौख हुन्थ्यो तर अहिले त्यो अवस्था रहेन । कानून बने, सरकारको उपस्थिति भयो, बाघको संरक्षणका लागि कार्यक्रम सञ्चालन भए । प्रा. शाहले भने, पहिलेको जस्तो मान्छे पनि गाउँघरतिर छैनन् । युवाहरु सबै लेखपढ गर्न सहर पसेका छन् । जागिर खाएका छन् । संरक्षण सम्बन्धी सचेतना पनि जागेको छ । शिकार खेल्नु भनेको कानून विपरित काम हो भन्ने बुझाइ भएपछि अहिले बाघको आहार पनि वृद्धि भएको छ ।

उनले त्यो क्षेत्रमा सानो छँदा बिताएको अनुभव यसरी साँटे, हामी सानो छँदा गाउँमा हरेक घरमा बन्दुक राखेको हुन्थ्यो । काम नभएपनि शिकार खेल्ने मानिस जंगलतिर पसिहाल्थे । शिकारीले बाघ होस् कि बाघको आहारा प्रजातिको जनावर होस्, जे भेट्यो त्यसलाई नै ताक्थ्यो । तर अहिले त्यो अवस्था छैन ।

छिमेकी मुलुक भारतमा बाघको बासस्थान सुधार भएकैले करिब ३,२०० मिटर सम्म र भूूटानमा ४,५०० मिटरसम्मको उचाईमा बाघ पुगेको देखिन्छ । हाल डडेल्धुराको भागेश्वर करिडोरमा बाघको साथै उसको आहारा घोरल पनि ट्रयाप भएको छ । यद्धपी हाल पनि घण्टेश्वर र तेलेको लेकमा बँदेल, घोरल, जरायो प्रशस्त देखिने गरेका छन् । जुन बाघको लागि आहारा हुन् । घण्टेश्वर र तेलेको लेक भागेश्वर करिडोर भन्दा केही अग्लो स्थान मानिन्छन् ।

डिजिजन वन कार्यालय डडेल्धुराका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्य पनि प्रा. शाहको भनाईसँग सहमत छन् । आचार्यले आइतवार नेपालकथासँग भने, तेलेको लेकसँगै रहेको साहुखर्क माथिको जंगलमा एनसेलको टावर रहेको छ । त्यहाँ काम गर्ने प्राविधिक र टावरको सुरक्षा गार्डले धेरै पटक पाटे बाघ देखेको बताएका छन् । अब दोस्रो चरणमा त्यो क्षेत्रमा पनि अध्ययन गर्ने योजना बनाइएको छ ।

उनले भने, बासस्थान सुधार भएको छ । आहार प्रजातिको संख्या वृद्धि भएको छ । त्यसैले यो क्षेत्रमा बाघको संख्या अरु पनि हुन सक्छ भन्ने सहज अनुमान गर्न सकिन्छ ।

डिजिजन वन कार्यालय डडेल्धुराका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्य

हाल देखिएको बाघ कताबाट आएको होला त ? भन्ने जिज्ञासामा आचार्यले भने, बाघ सम्बन्धी काम गर्ने डब्लुडब्लुएफका प्राविधिकका अनुसार यो बाघको पाटाको प्रारम्भिक अध्ययन गर्दा सन् २०१८ को गणनामा शुक्लाफाँटामा देखिएको बाघसँग पनि मिल्दैन । सन् २०१७ मा डडेल्धुराको जोगबुढामा देखिएको बाघको पाटासँग पनि मिल्दैन । त्यसैले यो कि त आहारको खोजीमा पारी भारतको नन्दुर वाइल्डलाइभ सेन्चुरीबाट आएको हुन सक्छ । या त सानो डमरु बढ्दै गएपछि नयाँ क्षेत्र खोज्दै आएको पनि हुनसक्छ । यो विषयमा थप अध्ययन हुन बाँकी नै छ ।

तर स्थानीय बासिन्दा सागर बोहराका अनुसार हाल देखिएको बाघ बाहिरबाट आएको नभएर त्यहाँको रैथाने पनि हुन सक्छ । बोहराले भने, हामीले द्धन्द्धकाल पछि पनि धेरै पटक यो क्षेत्रमा बाघ देखेका हौँ । बाघ देखेरै हामीले जंगलको भित्रभित्र जान छाडयौँ । अहिले फेरी बाघ देखा पर्न थालेको छ ।

स्मरणीय कुरा के छ भने डडेल्धुरा र डोटी जिल्लाको सीमा क्षेत्रमा वन्यजन्तुको संख्या निकै बढेको र वन्यजन्तुको कारणले बालीनाली नोक्सान गर्न थालेको हुँदा यसलाई संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने माग राखी दुई वर्ष अघि दुई वटा स्थानीय तहले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा निवेदन समेत दर्ता भएको थियो ।

तत्कालिन विभागका महानिर्देशक मनबहादुर खड्काले विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईको संयोजकत्वमा डडेल्धुरा र डोटी जिल्लाको बीचमा संरक्षण क्षेत्र बनाउन सम्भाव्यता अध्ययन गर्ने र कालीगण्डकी नदीमा घडीयालको बासस्थानको सम्भावनाको अध्ययन गर्न एउटा समिति समेत गठन गरेका थिए । पछि भट्टराइले डब्लुडब्लुएफको एउटा टीमलाई लिएर कालीगण्डकी नदीमा घडीयाल पाल्न सकिन्छ कि सकिदैन भन्ने बारे कालीगण्डकी नदीको बोटमा चढेर एक दिन बिताए तर डडेल्धुरा र डोटी जानेसम्म आँट गरेनन् ।

बाघ क्यामरा ट्रयापमा देखिइसकेपछि वन तथा वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीले थप चाँसो व्यक्त गरेका छन् । बाघको फूटेज हेरिसकेपछि सचिव डा.ओलीले संरक्षण साझेदार संस्था डब्लुडब्लुएफ लगायतका संस्थासँग छलफल गरेर थप अध्ययनका लागि काम गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here