नेपाल विद्युत् प्राधिकरण : अबको ‘मिसन’ गुणस्तरीय बिजुली प्रवाह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी असार मसान्तसम्ममा देशभरीमा थप ५५ वटा सव स्टेसनको निर्माण र स्तरोन्नति गर्ने मिसन अगाडि सारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले डडेल्धुराको स्याउलेमा निर्माण भएको सव स्टेशनलाई यसै हप्ता उद्घाटन गरेर सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा गुणस्तरीय विजुली प्रवाह गर्ने कार्य प्रारम्भ भएको छ । त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले तीन दिन अघि मात्र कैलालीको हसुलिया र पहलमानपुर तथा बर्दियाको भूरीगाउँमा गरी निर्माण भएको तीन वटा सव स्टेशनको उद्घाटन गर्नुभएको छ ।

यसबाट कैलालीको मध्य र दक्षिणी भागमा तथा बर्दियाका पश्चिमी भेगमा भरपर्दाे तथा गुणस्तरीय बिजुली प्रवाह हुने भएको छ । यो अभियानलाई वर्षभरी सञ्चालन गरिने भएको छ । मुलुक संघीयतामा गइसकेपछि प्रदेश स्तरीय औद्योगिक क्षेत्रको विकास गर्ने योजना अनुरुप प्रसारण लाइन र सव स्टेशनको निर्माण रणनैतिक रुपमा गरिने थालिएको ऊर्जा सचिव दिनेशकुमार घिमिरेले बताउनुभयो ।

भारतबाट आयात गरेरै भएपनि प्राधिकरणले मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत् उपभोक्तालाई गुणस्तरीय तथा नियमित विद्युत् आपूर्ति गर्न सव स्टेशन निर्माणको कार्यलाई अभियानका रुपमा लिएको छ । विद्युत् नियमित, भरपर्दो र गुणस्तरीय बनाउनैका लागि यस आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सव स्टेसनको निर्माण र स्तरोन्नति गरिसक्ने गरी प्राधिकरणले कार्ययोजना बनाएको छ ।

आगामी असार मसान्तभित्र ६०० सर्किट किलोमिटर प्रसारण र ८,००० सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न गर्ने महत्वाकांक्षी योजना प्राधिकरणले अघि सारेको छ । स्थायी सरकार गठन भएपछि विदेशी लगानीकर्ता पनि आकर्षित भइरहेका छन् । विशेष गरी नेपालका खनिज सम्पदामा आधारित उद्योगधन्दामा विदेशी लगानी भित्रिन थालेको छ ।

निजी लगानीका सिमेन्ट उद्योगलाई प्रवद्र्धन गर्न उद्योगस्थलमा विद्युत् लाइन विस्तार गर्ने सरकारी नीति अनुरुप निर्माण गरिएको कुसुम (बाँके)–हापुरे (दाङ) १३२ केभी प्रसारण लाइन र १३२/३३ केभी सब स्टेसनको निर्माण सम्पन्न भएको छ । ४३ करोड रुपियाँ लगानी गरी निर्माण गरिएको आयोजनाबाट दाङमा संरचनामा रहेका र स्थापना हुने सिमेन्ट उद्योगले पर्याप्त विद्युत् पाउने भएका छन् भने स्थानीय बिजुली उपभोक्तालाई गुणस्तरीय विद्युत् नियमित रुपमा आपूर्ति गरिने भएको छ ।

ऊर्जा सचिव दिनेशकुमार घिमिरेले सरकारको प्राथमिकता विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार रहेको बतानुभयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खपत बढाउन र विद्युत् आपूर्तिलाई गुणस्तरीय बनाउन सवस्टेसन निर्माण तथा स्तरोन्तिको काम देशभरि चलिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here