काठमाडौँ । झण्डै पाँच महिना राष्ट्रपति चुरे तराई मधेश विकास समितिमा सदस्य सचिव भएर आफ्नै मूलघर फर्केका वन तथा भूसंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्कालाई जिल्लाबाट डिभिजनल वन अधिकृतले तस्करसँग लड्न सकेपनि कोरोनासँग लड्न नसकिने गुनाशो गरे ।
महानिर्देशक खड्काले किन भनेर प्रतिप्रश्न गर्दा टेलिफोन सम्बादमा ती वन अधिकृतले गाउँमा खानतलासी गर्दा, मानिसलाई पक्राउ गर्न जाँदा कोरोना सर्न सक्ने सम्भावना रहेको तर फिल्डमा काम गर्ने कर्मचारीसँग मास्क पनि नभएको स्पष्ट पारे ।
मुलुकभर लकडाउन थियो, भोलिपल्ट बिहानै विभाग हिडेका खड्काले केही कर्मचारीलाई विभागमा बोलाएर मास्क, स्यानिटाइजर, पञ्जा तथा सावुनको व्यवस्था गर्न लगाए र एउटा गाडी चितवन पूर्व हुइकियो, अर्काे गाडी चितवन पश्चिम दगुरियो । ४० जिल्लाका वन कर्मचारीसम्म ती सामान पुग्न दुई दिन पनि लागेन ।
वन विभागले सुरक्षा सामग्री पठाएको सूचना पाएपछि राष्ट्रिय निकुञ्जका फिल्डका कर्मचारीले पनि विभागमा झिनो स्वर पुर्याए । लकडाउनसँगै अवकाशको चिठ्ठी बुझ्ने तयारीमा रहेका महानिर्देशक गोपालप्रकाश भट्टराई अनि बल्ल ताते । त्यसको भोलिपल्ट मन्त्री शक्तिबहादुर बस्नेत, सचिव डा. विश्वनाथ ओलीले महानिर्देशक भट्टराईलाई राखेर सबै निकुञ्जका प्रमुखसँग भिडियो कन्फ्रेस गर्न सूचना जारी गरे । सबै चिफ वार्डेनको एउटै गुनाशो थियो, काम गर्न निकै गाह्रो छ, सुरक्षाका सामग्री न यता किन्न पाइन्छन् न किन्न सक्ने अवस्था छ । वन विभाग झैँ त्यतैबाट निकुञ्ज विभागले पठाइदिनु पर्यो ।
चैत ३० गते आइतवारका दिन सबै चिफ वार्डेनले मन्त्री, सचिव र महानिर्देशकलाई सुरक्षा सामग्रीको यस्तो आग्रह गरेका थिए । मास्क, पञ्जा, पिपिई लगायतका सुरक्षा सामग्री तराईका निकुञ्जमा पुग्न पनि एक हप्ता लाग्यो, कतिपय निकुञ्जमा त अझै पनि ती सामान पुग्न सकेका छैनन् । वन विभागका महानिर्र्देशक खड्काले वन अधिकृतले माग गरेको भोलिपल्टै विभागको बजेटबाट ४० जिल्लालाई पठाउन भ्याए भने थोरै निकुञ्जलाई पठाउन पनि संरक्षण साझेदार संस्थालाई हार गुहार गरिएको कुरा मन्त्रालयका एक अधिकारीले बताए । ती अधिकारीले भने, यस्तो कुरो त नेतृत्वमा भरपर्ने हो ।
मनबहादुर खड्का अलि खरो स्वभावका छन्, काम पनि भ्याट्ट गरिहाल्छन् । हाकिम गुलियो भएर के गर्नु ? चाहिने बेला निर्णय गर्न नसक्ने भएपछि निकुञ्जका साथीहरु जस्तै दुख्ख पाइन्छ, ती अधिकारीले सोमवार नेपालकथासँग भने ।
हुन पनि हो, पाँच महिना चुरेमा बस्दा अर्थ मन्त्रालयबाट ६० करोड ५० लाख रुपियाँ निकाशा गर्न सफल खड्काले उपत्यका बाहिर बिस्तार गरिएका चुरेको कार्यक्रम कार्यान्वायन इकाइमा इन्जिनियर, लेखा प्रमुखको व्यवस्थापन गर्न समेत भ्याए ।
चुरेबाट वन विभागमा आएपछि अघिल्ला डिजीले थाति राखेका वृहत वृक्षारोपण र वन उद्यम कार्यक्रमको काम अगाडि बढाइ सके । विशेष गरी काठको चोरी निकासी हुने र चोरी शिकार हुने तराईका जिल्लाका वन अधिकृतसँग दैनिकजसो खड्काले सम्पर्क गर्ने गरेका छन् । प्रदेश मन्त्रालयका सचिव, निर्देशक भन्दा खड्काले वन अधिकृतसँग नजिक सम्बन्ध राख्ने गरेका छन् ।
बाहिर लकडाउन चलिरहेका बेला केही दिन अघि अर्थ मन्त्रालयमा आगामी वर्षको बजेटका लागि छलफल भइरहेको थियो । वन तथा वातावरण मन्त्रालयका पदाधिकारी बजेट छलफलका लागि हातमा मोटा डायरी र फायल समातेर बसिरहेका बेला अर्थ मन्त्रालयका एकजना बरिष्ठ अधिकारीले हाँस्दै भने, वन मन्त्रालय भनेको त अब चुरे मात्र हो जस्तो लाग्न थाल्यो मलाई त ।
केही महिना अघि राष्ट्रपति चुरे तराई विकास समितिले अर्थ मन्त्रालयमा रकम माग गर्दा ‘चुरेलाई पैसा दिनु भनेको बालुवामा पानी हाल्नु हो नि’ भन्दै तिनै बरिष्ठ अधिकारी जंगिएका थिए । त्यतिबेला चुरेमा सदस्य सचिवको भूमिकामा थिए, तिनै मनबहादुर खड्का । खड्काले ती अधिकारीलाई हिजोको नजरले राष्ट्रपति चुरे कार्यक्रमलाई नहेर्ने आग्रह गरे । खड्का अर्थ मन्त्रालयमा हप्तौँसम्म दगुरि रहे तर पनि रकम निकाशा दिने कुरामा अर्थ मन्त्रालयलाई ‘कन्भिन्स’ गराउन सकेनन् ।
राष्ट्रपति चुरे प्रति अर्थ मन्त्रालय मात्र होइन, तालुकवाला मन्त्रालय वन तथा वातावरण मन्त्रालयको बुझाई पनि उस्तै थियो । एक गैससमा काम गर्ने व्यक्तिलाई टपक्क उठाएर राज्यमन्त्रीको सुविधा अनि वन, वातावरणको ज्ञानै नभएका केही ‘लेफ्ट राइट’ हरुलाई सहायक मन्त्रीको सेवा सुविधा दिएको सिंहदरबार तथा बबरमहलमा आश्रित कसैलाई पनि सह्य भएको थिएन । वन, वातावरणको खासै ज्ञान नभएका ‘स्वघोषित चुरेका उच्च घराना समुह’ले कर्मचारीबाट स्वार्थ पूर्ति हुन्जेलसम्म ठिक, नभए पछि ‘म त दिदीको मान्छे, मलाई कसैको डर छैन’ भन्ने खुमलटारमा गुञ्जिने वाक्यांशले सबै आजित भइसकेका थिए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट खड्कालाई चुरेको सदस्य सचिवको भूमिकामा बलजफ्ती पुर्याइएको थियो । वन मन्त्री शक्तिबहादुर बस्नेतका स्वार्थ पूर्ति हुने कुरा खड्काले गर्न नमानेपछि महानिर्देशकबाट हटाइएकै हो । तर पनि खड्का जता जान्छन्, त्यतै केही गरिहाल्ने उनको बानीले चुरेमा पनि उनलाई हात बाँधेर बस्ने दिएन ।
अर्थ मन्त्रालयसँग खड्का थाकेनन् । चुरेको अहिलेको सुधारिएको अवस्था हेरेर, अध्ययन गरेर मात्र चुरे बारे टिप्पणी गर्न खड्काले जब अर्थमन्त्रालयमा टेबुल ठोके अनि अर्थको टीमले गएर चुरेको कार्यक्रमको रुपरेखा हेर्यो । फायलको धुलो टक्टकायो । बल्ल कन्भिन्स भएर ६० करोड ५० लाख रुपियाँ निकासा भयो, राष्ट्रपति चुरे तराई मधेश विकास समितिका नाउँमा ।
अघिल्ला सदस्य सचिवका पालामा खुमलटारमा साँघुरिएको राष्ट्रपनि चुरे समिति सुदूरपश्चिमको लम्की हुँदै बुटवल, चितवन, जनकपुर र विराटनगरसम्म बिस्तार त भएको थियो । न बजेट थियो, न कर्मचारी नै थिए ।
बाहिर खोलिएका कार्यालयका व्यवस्थापन तथा बिभिन्न अध्ययन अनुसन्धानका लागि विश्व बैँकले ६० करोड दिने प्रतिवद्धता गरेको रकम नदिने भएपछि सुरु भइसकेका अधिकांश कामको पनि भुक्तानी पनि हुन सकेको थिएन । जब खड्काको पहलमा अर्थले निकासा दियो अनि खुमलटारमा बसेका राज्यमन्त्री तथा सहायकमन्त्रीहरु पनि खुसी भए । म त दिदीको मान्छे, म त सभामुखको मान्छे, म त मन्त्रीको मान्छे भन्नेहरु चुप बसे । सर्बम् मौनम् समर्थनम्, मनबहादुर खड्काको क्षमताको ।
काम गर्नेलाई कहिँ कसैले रोक्दैन भन्ने एक उदाहरण हुन खड्का । निकुञ्ज विभाग देखि चुरे हुँदै अहिलेको वन विभागको कामको रफ्तार हेर्दा उनले यो कुरा प्रमाणित गरिदिएका छन् । कोरोना भाइरसका महामारी फैलिइरहेका बेला फिल्डमा काम गर्ने कर्मचारीको सुरक्षाका लागि उनले जसरी विभागीय प्रमुखको हैसियतमा जति सक्दो चाँडो एक्सन लिन सके त्यो एक पछिल्लो उदाहरण हो । मन्त्रालयका एक जना पूर्व सचिवले खड्काका बारेमा छोटो टिप्पणी गर्दै भने, खड्का जता जान्छन् काममा आफु पनि तात्छन् अरुलाई पनि तताउन्छन् ।