बाघ खोज्दै वन अधिकृत

काठमाडौँ । डडेल्धुराको महाभारत क्षेत्रमा पाटे बाघ रातको समयमा बिचरण गरेको दृश्य पहिलो पटक क्यामरामा कैद गरेको सफलता पछि पुनः त्यसै क्षेत्रमा बाघ सम्बन्धी विस्तृत अध्ययन, अनुसन्धान गर्न क्यामरा जडान गरिँदै छन् ।

विष्णुप्रसाद आचार्य, डिभिजनल वन अधिकृत

डडेल्धुराका डिभिजनल वन अधिकृत बिष्णुप्रसाद आचार्यका अनुसार शुक्रवार र शनिवारको प्राविधिक स्थलगत अध्ययन पछि आइतवारबाट क्यामरा जडान कार्य प्रारम्भ गरिएको छ । यस अघि पहिलो चरणमा डडेल्धुरा जिल्लाको साउखर्कको भित्री भागदेखि डोटीको घण्टेश्वर हुँदै आलीताल, गाङखेत, भागेश्वरसम्मको क्षेत्रमा पूर्व पश्चिम पर्ने गरी ३२ वटा क्यामरा जडान गरिएका थिए । पहिलो चरणमा भागेश्वरक्षेत्रमा बाघ देखिएको थियो ।

यो दोस्रो चरणमा भागेश्वर करिडोरको उत्तर दक्षिण क्षेत्र पर्ने गरी क्यामरा जडान गरिन थालिएको छ । डिभिजनल वन अधिकृत आचार्यका अनुसार पहिलो चरणमा पूर्व पश्चिम क्षेत्रलाई समेटेर क्यामरा राख्दा एउटा बाघ कैद भएको र अब दोस्रो चरणमा उत्तर दक्षिण क्षेत्रलाई समेटेर बाघ र बाघको आहार प्रजातिका बारेमा विस्तृत अध्ययन गर्न खोजिएको हो ।

यो पटक भागेश्वर देखि परशुधाम नगरपालिको जोगबुढा हुँदै महाकाली नदी क्षेत्रसम्म बाघको आवतजावत अध्ययन गर्न यो क्षेत्र छनौट गरिएको छ ।

आचार्यले नेपालकथासँग भने, शनिवार दिनभरी पानी पर्यो, आज पनि मौसम खासै सफा छैन । यताको भागेश्वरदेखि तलको जोगबुढा महाकाली नदीछेउ समेतलाई समेट्ने गरी क्यामरा राखिने हुँदा एक÷दुई दिनभित्र क्यामरा जडान गर्ने काम सकिन्छ होला । यो पटक अध्ययनको क्षेत्र अलि बढी समेट्ने कोशिस गरेका छौँ ।

डब्लुडब्लुएफका क्यामरा प्राविधिकको प्रशिक्षण पछि क्यामरा जडान गर्दै डिभिजननल वन कार्यालय डडेल्धुराका कर्मचारी

यो पटक जडान गरिएका क्यामरा एक महिनासम्म राखिने जानकारी आचार्यले दिए । क्यामरा जडान गर्ने कार्यमा संरक्षण साझेदार संस्था डब्लुडब्लुएफका पाँच जना प्राविधिक र डिभिजनल वन कार्यालयका पाँच जनाको सहभागिता रहेको छ ।

हाल बाघ देखिएको क्षेत्र चितुवाको प्रमुख बासस्थान मानिन्छ । नेपालमा विशेष गरी तराईका जंगलमा पाटे बाघ पाइने गरेको छ । यस अघि जोगबुढा क्षेत्रसम्म बाघ देखिएको थियो । नेपालमा पछिल्लो समय यो उचाई (२,५०० मिटर) मा पहिलो पटक बाघ रेकर्ड गरिएको हो ।

विश्वमा बाघको विषयमा अध्ययन गरिरहेको अध्येताले बाघको बासस्थान स्थानान्तरण भइरहेको प्रतिवेदन दिइरहेका बेला नेपालमा यो उचाईसम्म बाघ देखिएको छ । भारतमा सिक्किममा करिब ३,२०० मिटरमा बाघ रेकर्ड गरिएको छ भने भूटानमा त ४,००० मिटरभन्दा पनि माथिको उचाईँसम्म बाघ देखिएको छ ।

भागेश्वर करिडोरमा जडान गरिएको कड ब्याक ब्राण्डको क्यामरा ।

विश्वमै दुर्लभ मानिएको पाटे बाघ नेपाल, भारत, भूटान लगायतका विश्वका १४ वटा देशमा मात्र अस्तित्वमा रहेको छ । नेपालले बाघ संरक्षणमा विश्वमै उल्लेख्य प्रगति गरेको छ । सन् २०११ मा नेपालले अन्तराष्ट्रिय मञ्चमा बाघको संख्या दोब्बर गर्ने भन्ने प्रतिवद्धता पुरा हुने तर्फ नेपाल पुग्न थालेको छ । सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा पाटे बाघको संख्या २३५ पुगेको छ ।

निकै आशाबादी भएका छौँ

डब्लुडब्लुएफका तर्फबाट यो कामको नेतृत्व करुण देवानले गरेका छन् । उनले शनिवार राती नेपालकथासँग भने, पहिलो चरणमा बाघ क्यामरामा कैद भइसकेकोले पुनः विस्तृत अध्ययनका लागि थप यो काम गर्न थालिएको हो ।

करुण देवान, डब्लुडब्लुएफ, प्रोग्राम असोसिएट

दोस्रो चरणमा बाघ भेटिन्छ भन्ने कुरामा हामी निकै आशाबादी छौँ । डिभिजनल वन कार्यालय डडेल्धुराले थप अध्ययनको आवश्यकता महसुस गरेपछि यो काम भएको हो । यो पटकमा बाघ मात्र नभई उसको आहार प्रजातिको बारेमा पनि अध्ययन गर्न सहज हुने छ । यसअघि बाघको बासस्थान हो भनेर पहिचान भइसकेको ठाउँमा क्यामरा १५ दिनसम्म राख्दा पुग्थ्यो तर यो ठाउँमा पहिलो पटकको अध्ययन भइरहेकोले क्यामरालाई एक महिना राख्न खोजिएको हो । ‘कड ब्याक’ ब्राण्डका आधुनिक प्रविधि जडित क्यामराबाट यो अध्ययन गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here