चितवन । गैँडा गणनाको पूर्व सन्ध्यामा चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा भाले गैँडा मृतावस्था फेला परेको छ ।

नारायणी नदीको कलकत्ता टापुमा करीब ३० वर्षीय भाले गैँडा मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले दिएको जानकारी अनुसार सो क्षेत्रमा दुई वटा भाले गैँडा जुधेर घाइते हुँदा एउटा गैँडा मरेको हो । मृत गैडा हिजो फेला परेको हो । मृतावस्थामा भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको छ ।
चालू आर्थिक वर्ष २०७७/७८ मा निकुञ्जमा २२ प्राकृतिक र चार चोरी शिकारबाट गैँडा मरेका छन् । निकुञ्जमा पाटे बाघसमेत मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ ।

त्यसैगरी यही फागुन २३ गते सौराहाक्षेत्रमा पर्ने निकुञ्जको मुख्यक्षेत्र चपरचुली खहरे खोलामा करिब चार वर्षीय पाटेबाघ मृत अवस्थामा भेटिएको छ । प्राकृतिक कारणबाट मरेको सो पाटेबाघको लिङ्ग पहिचान हुन नसकेको निकुञ्जले जनाएको छ । चालू आव २०७७/७८ मा निकुञ्जमा मृत्यु भएको यो पहिलो पाटेबाघ हो ।


























