काठमाडौँ । गत साउनदेखि हालसम्मको नौ महिनाका अबधिमा बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको आक्रमणबाट नौ जनाको ज्यान गइसकेको छ । हरेक महिना जसो बाघको आक्रमणबाट एक जनाको ज्यान जान थालेपछि बर्दियामा बाघ आतंक मच्चिएको छ ।
मंगलवार दिउसो निकुञ्जभित्र छिरेर घाँस, दाउरा र निउरो टिप्न गएकी ठाकुरबाबा नगरपालिका वडा न २ का महिला दल्ली रावलको निकुञ्जको कोर एरियामा मृत्यु भएपछि झन आतंक फैलिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठका अनुसार निकुञ्जको कोर एरिया बगौरा फाँटामा बाघले ती महिलालाई आक्रमण गरेको थियो । आक्रमण गरेको खवर पाउँदा साथ तत्काल निकुञ्जको हात्ती सहितको टोली खोजी कार्यमा लाग्दा मृत शरिर भेटाइएको र त्यो क्षेत्रमा बाघको पहिचान गर्न सीसी क्यामरा जडान गरिएका छन् ।

प्रमुख संरक्षण अधिकृत, बर्दिया राष्ट्रिय निकुञ्ज
दिन प्रति दिन बाघको आक्रमण बढ्न थालेपछि नरभक्षी बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको टोली मंगलबारदेखि नै सक्रिय भइरहेको छ भने फेरी बाघले आक्रमण गर्न सक्ने तर्फ सचेत हुँदै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्जमा रहेको डार्ट टोलीलाई बर्दिया पठाएको छ ।
श्रेष्ठले नेपालकथालाई दिएको जानकारी अनुसार अहिले बर्दिया राष्ट्रिय निकुञ्जको बाघलाई डार्ट गर्ने एउटा टोली गेरुवा क्षेत्रमा परिचालन गरिएको छ । सो क्षेत्रमा बाघले पशुवस्तुलाई खान थालेपछि समस्याग्रस्त बाघलाई नियन्त्रण लिन जरुरी भएकाले टोली परिचालन गरिएको हो ।
निकुञ्ज तथा खाता करिडोर क्षेत्रमा बाघको मोबिलिटी बढ्दै गएपछि सम्भावित दुर्घटना हुन सक्ने भन्दै चितवनबाट पनि एउटा डार्ट गर्ने टोली आएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले पुष्टि गर्दै भने, गेरुवा, गोला क्षेत्रमा पनि बाघ देखिराखेको छ, मधुवनको खाता करिडोर क्षेत्रमा पनि मोबिलिटी बढाइरहेकोले दुबै टोली परिचालन गर्नुपर्ने अवस्था आएको हो । टोलीमा हात्तीको प्रयोग गरिएको छ भने सेना, प्रहरी, शसस्त्र प्रहरी, वन रक्षक, पशु चिकित्सक, निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक रहेका छन् ।
गत पुस १७ गते पूर्व पश्चिम राजमार्गमा नेपालगञ्जबाट उपचार गरेर कैलाली घर फर्किदै गरेका एक महिलालाई बाघले आक्रमण गरेको थियो । उनको मृत्यु पछि निकुञ्जले जडान गरेको सीसी क्यामरामा चार वटा बाघको आवत जावत भएको देखिएको छ । साउन यताको अवधिमा खाता जैविक करिडोरमा पाँच जनाको ज्यान गएको छ भने निकुञ्ज र आसपासका क्षेत्रमा थप चार जनाको ज्यान गएको छ ।

प्रमुख संरक्षण अधिकृत श्रेष्ठका अनुसार दुबै स्थानमा चार/चार वटा फरक फरक बाघ कैद भएकाले नरभक्षी बाघको पहिचान गर्न कठिन भइरहेको छ ।
मानव वन्यजन्तु द्धन्द्ध न्यूनीकरण गर्न ठाकुरद्धारा स्थित निकुञ्जको उद्धार घरमा यस्तै नरभक्षी एक बाघलाई नियन्त्रणमा राखिएको छ । यस अघि खाता जैविक करिडोर क्षेत्रमा बाघलाई नियन्त्रण लिन दुई हप्ताको प्रयास विफल भएपछि पुनः त्यहि क्षेत्रमा बाघ देखिन थालेकोले फेरी डार्ट टोली परिचालन गरिएको बताइएको छ । 
निकुञ्जलाई सबैको सहयोग
बाघको आक्रमणबाट मानवीय क्षति हुन थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वले तत्काल सबै खालका सहयोग गर्ने भएको छ । तत्काल डार्ट गर्ने टोली चितवनबाट पठाएको छ भने बाघको आवत जावत बढेको क्षेत्रमा सोलार तारवार निर्माण गर्नका लागि अर्थ मन्त्रालयलाई बजेटको व्यवस्थाका लागि पत्राचार पनि गरेको छ ।
त्यस्तै निकुञ्ज वरीपरिका स्थानीय निकायका जनप्रतिनिधिहरुले पनि द्धन्द्ध कम गर्न के गर्ने भन्ने विषयमा निकुञ्ज प्रशासन र अन्य सरोकारावालासँग छलफल चलाएका छन् । नगरप्रमुख तथा गाउँपालिका प्रमुखहरुले निकुञ्जलाई चाहिने सहयोग गर्न तत्परता देखाएको छ । बर्दिया जिल्ला स्तरीय मानव वन्यजन्तु द्धन्द्ध न्यूनीकरण रणनीतिक कार्ययोजना निर्माण गरी सबै सरोकारवाला निकायले सहयोग गर्ने भएका छन् ।
प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने, स्थानीय प्रशासनले पनि समस्याग्रस्त बाघलाई नियन्त्रण गर्न चाहिने सबै खालको सहयोग गरिरहेको छ ।
लापरवाहीले ज्यान जान थाल्यो
अनुमति नलिइ निकुञ्जको भित्रि क्षेत्रमा घाँस, दाउरा अनि सागपात, च्याउ टिप्न जाने, माछा मार्न जाने व्यक्ति बढीजसो वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन् । वनजंगलमा गएपछि वन्यजन्तुसँग आमने सामने हुँदा कि त मान्छे भागेर बाँच्न सक्नुपर्छ नभए आक्रमणको शिकार हुनुपर्छ नै । प्रमुख संरक्षण अधिकृत श्रेष्ठले नेपालकथासँग भने, यहाँका बासिन्दा सचेत र सजग नभएसम्म यस्ता घटना भइरहने देखिएका छन् । यसको लागि स्थानीय बासिन्दा नै सचेत हुनु जरुरी छ ।
घेरबार, छेकवार पशु वस्तु तथा वन्यजन्तुलाई हो तर मानिसलाई त होइन । खुला रुपमा मध्यवर्ती क्षेत्र र निकुञ्जको सीमाना जोडिएको अवस्थामा जथाभावी रुपमा मानिसको निकुञ्ज प्रवेशले यस्ता घटना घट्ने भन्दा बढ्ने देखिएकाले स्थानीय सरकार, वडा कार्यालय, स्थानीय महिला तथा युवा जागरण समितिहरुले सचेतनामा लागि लाग्ने जरुरी छ ।
			
		

























