निकुञ्जका हात्ती काजमा खटिने

काठमाडौँ । दुर्लभ वन्यजन्तु एक सिंगे गैँडाको राष्ट्रिय गणनाका लागि निकुञ्जभित्रका हात्तीलाई काजमा खटाइने भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट हरिभद्र आचार्यले दिएका जानकारी अनुसार चितवन पर्सा कलष्टरमा गैँडाको गणनाका लागि चितवन राष्ट्रिय निकुञ्जमा रहेका ३५ वटा र पर्सा राष्ट्रिय निकुञ्जमा रहेका पाँच वटा हात्ती र माउतेलाई गैँडा गणना अवधिभरका लागि करिब एक महिना काजमा खटाइ सकिएको छ ।

इकोलोजिष्ट हरिभद्र आचार्य

त्यसैगरी बर्दियाको गणनामा बर्दियामा रहेका हात्ती र शुक्लाफाँटाको गणनाका लागि त्यही रहेका हात्ती र माउतेलाई काजमा खटाइने भएको छ । विभागका सूचना अधिकारी समेत रहेका इकोलोजिष्ट आचार्यले नेपालकथासँग बिहीवार भने, निकुञ्जको नियमित काम बाहेकको काम भएकाले गैँडा गणनामा हात्ती र माउतेलाई काजमा खटाइने भएको हो ।

हात्तीलाई काजमा खटाइएको बेला दैनिक रासनमा पनि थप गरिने भएको छ । सामान्य अवस्थामा हात्तीका लागि प्रति दिन १५ किलो धान, १ किलो भेलि, नून र घाँस दिने गरिन्छ भने काजमा खटाएका बेला थप एक केजी चना हात्तीको खुराकका लागि दिनुपर्ने आचार्यले जानकारी दिए । हात्तीका माउतेलाई पनि दैनिक भ्रमण भत्ता दिइने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here