प्रधानमन्त्रीलाई सही सल्लाह दिन्छु : डा. कार्की

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको जलवायु विज्ञमा डा. माधवबहादुर कार्की नियुक्त भएका छन् ।

बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले डा.कार्कीलाई जलवायु विज्ञ र अरुण कुमार सुवेदीलाई परराष्ट्र सल्लाहकारमा नियुक्त गरेको थियो ।

जलवायु विज्ञ डा. कार्कीले नेपालकथासँग भने, मैले प्रधानमन्त्रीलाई सही सल्लाह दिने काम गर्नेछु ।

पछिल्लो समय जलवायु परिवर्तनको जोखिमले नेपाल आक्रान्त भइरहेका बेला प्रधानमन्त्री देउवाले विश्वका ठूला मुलुकसँग जलवायु वित्त बारे लविङ गर्न डा. कार्कीलाई नियुक्त गरको कुरा बालुवाटार स्रोतले बताएको छ ।

यस अघि वर्तमान सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा डा. कार्कीलाइ नियुक्त गरेको थियो । तर केपी ओली सरकारको पालामा नियुक्त हुनु भएका कोषका अध्यक्ष डा.कृष्णप्रसाद ओली अदालत गएपछि अदालतले डा. ओलीलाई नहटाउन अन्तरिम आदेश दिएको थियो ।

को हुन माधबबहादुर कार्की ?

करिब चार दशक प्राकृतिक स्रोत व्यवस्थापन, दीगो विकास, जैविक विविधताको संरक्षणको कर्ममा बिताएका डा. माधबबहादुर कार्की वन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा अमेरिकाको क्लोराडो स्टेट विश्वविद्यालयबाट स्नाकोत्तर पास गरेका छन् ।

उनले अमेरिकाकै मिचिगन स्टेट विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन समेत गरेका कार्की इसिमोडमा सन् २००५ देखि २०१२ को अवधिसम्म डेपुटी डाइरेक्टर भएर काम गरेका छन् ।

वन अध्ययन संस्थानको निमित्त डिन तथा डाइरेक्टरको अनुभव समालेका डा. कार्कीले वन, वातावरण, दीगो विकास र खाद्य सम्प्रुभता, जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनसँग सम्बन्धित अन्तर्राष्ट्रिय पेपरमा एक सय भन्दा बढी अध्ययन अनुसन्धान, लेख रचना प्रकाशन गरेका छन् । वन अध्ययन संस्थानमा कार्कीको समय अलि बिबादित रहे पनि ज्ञान, क्षमताको हिसाबले उनमा खोट लगाउने ठाउँ भने छैन ।

२०११ सालमा जन्मिएका कार्कीले बीएस्सी एजी भारतको पञ्जाव विश्वविद्यालयबाट पास गरेका हुन् । आइयूसिएन कमिसन अन इकोसिष्टम म्यानेजमेन्टको डेपुटी चेयर भएर काम गरिसकेका डा. कार्की वातावरण संरक्षण कोषको विज्ञ सदस्यको रुपमा काम गरिसकेका छन् ।

विश्व बैँक, एसियाली विकास बैँक, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका अन्तर्राष्ट्रिय संघ÷संस्थामा काम गरिसकेका डा. कार्कीले विश्वका झण्डै ४० मुलुकमा भ्रमण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here