मनहरी । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा रहेका खोलाबाट अवैध रुपमा मेसिन लगाएर ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने काममा जनप्रतिनिधिको संलग्नता देखिएपछि पर्सा राष्ट्रिय निकुञ्जले कारवाही गर्न खोज्दा शनिवार दिनभर तनाव भएको छ ।
हेटौडा उपमहानगरपालिका वडा नम्वर १९ का वडाध्यक्ष नरनाथ सुबेदी मकवानपुरको मनहरी क्षेत्रतर्फको मध्यवर्ती क्षेत्रमा रहेको खोलामा आफै उपस्थित भएर जेसिबी सञ्चालन गरिरहेको अवस्थामा पर्सा राष्ट्रिय निकुञ्जको गस्ती टोली पुगेपछि झडपको स्थिति पैदा भएको हो । 
निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज शाहका अनुसार नेपाली सेना सहित संयुक्त गस्तीमा रहेको निकुञ्जको टोलीले पक्राउ गर्न खोज्दा वडाअध्यक्ष र स्थानीय केही व्यक्तिहरुले अवरोध गरेको थिए ।
तत्काल स्थानीय प्रमुख जिल्ला अधिकारीलाई सहयोग माग्दा समेत नजिकै रहेको प्रहरी मुकदर्शक भएपछि नेपाली सेनाको टोलीले थप बल प्रयोग गर्न खोजेको थियो । 

निकुञ्जका कर्मचारी र नेपाली सेनाले वडाध्यक्ष सहित जेसिबि मेसिन जफत गरि थप कारवाहीका लागि पक्राउ परेका व्यक्तिलाई गाडीमा हाल्न खोजेपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा प्रहरीले हस्तक्षेप गरेको थियो । 
झडपको स्थिति पैदा हुँदा समेत घटनालाई नसुने झैँ गरेका प्रमुख जिल्ला अधिकारी जब निकुञ्जको टोलीले पक्राउ परेका व्यक्तिलाई निकुञ्जको कार्यालयमा लिन थालेपछि मात्र सक्रियता देखाएका थिए । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सो क्षेत्रमा भएको गतिविधिको कारवाही गर्ने क्षेत्राधिकार नेपाल प्रहरीको भएको दावी गर्दै निकुञ्ज र नेपाली सेनाले नियन्त्रणमा लिएका वडाअध्यक्ष सुवेदी लगायतका व्यक्ति र मेसिन छाड्न बाध्य पारेको थिए । 
मनहरी क्षेत्रमा विगत लामो समयदेखि मध्यवर्ति क्षेत्रमा क्रसर उद्योग सञ्चालन हुँदै आएका छन् । विगतमा निकुञ्ज प्रशासनले आँखा चिम्लेकै कारण व्यावसायिक प्रयोगका लागि मध्यवर्ती क्षेत्रभित्रका प्राकृतिक स्रोतको दोहन हुँदै आएको छ । 
निकुञ्जका प्रमुख संरक्षण अधिकृतमा शाह गइसकेपछि मनहरी क्षेत्रमा भएका गैर कानूनी कामलाई रोक्न खोज्दा प्रदेश सभाका सदस्य, मूख्य मन्त्री तथा गृह मन्त्रालय समाल्ने राजनीतिक नेतृत्वबाट दबाव सिर्जना हुँदै आएको छ । 
शनिवारको घटनाका बारेमा प्रमुख जिल्ला अधिकारी पाण्डेले नेपालकथासँग भने, हामीले अनुगमनलाई बेला बेला गर्ने गरेका छौँ । आज भएको घटनामा प्रहरीले कारवाही गर्दैछ । 
निकुञ्ज प्रशासनले कारवाही गर्न खोज्दा किन सहयोग गर्नु भएन भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी पाण्डेले भने, यो घटनाका बारेमा मलाई भर्खर थाहा भएको छ । दिनभरी के भो ? कसो भयो ? मैले बुझ्न पाएको छैन । 
जबकी निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले घटनाको सुरुवाती अवस्थामा नै प्रमुख जिल्ला अधिकारी पाण्डेलाई खबर गरी प्रहरीको सहयोग मागेका थिए । स्थानीय गुण्डा केटाहरु लगाएर वडाध्यक्ष भाग्न खोजेपनि गस्तीमा रहेको नेपाली सेनाले थप कारवाही गर्ने चेतावनी दिएपछि मात्र वडाध्यक्ष सुबेदी शान्त भएका थिए ।  
केही महिना अघि चिवतन राष्ट्रिय निकुञ्जभित्रका खोलामा ढुङ्गा, गिट्टी, बालुवा निकाल्दा गोही पनि टिपरमा मरेको अवस्थामा भेटिएको थियो । 
प्राप्त जानकारी अनुसार विभागका एक बरिष्ठ अधिकारी शनिवार भएको घटनालाई मिलाउन निकै लागि परेको थाहा भएको छ । विशेष गरी मकवानपुर र चितवनका क्रसर उद्योगी व्यवसायीसँग ती अधिकारीसँग विशेष सम्बन्ध रहेको चर्चा वन तथा वातावरण मन्त्रालयमा चल्ने गरेको छ।
 
			 
		




