वन मन्त्रीले सोधे, बाघ साँच्चिकै राजा हो ?

चितवन । बाघ गणना आज आइतवार दिउँसो औपचारिक रुपमा चितवनबाट सुरु हुँदैछ ।
बाघ गणना सुरु हुनु अघि वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले बाघ गणनाको अन्तिम तयारी बारे जानकारी लिएका छन् ।

बाघ गणनाका लागि भएको प्राविधिक तथा आर्थिक तयारीको बारेमा मन्त्रालयका अधिकारी तथा बाघ विज्ञहरुले मन्त्री यादवलाई जानकारी दिए ।

बाघको बासस्थान, आहार, आचार विचरण, द्धन्द्धको अवस्था, बाघको संख्या तथा जैविक विविधताको संरक्षणमा बाघको महत्व बारे बाघ विज्ञहरु डा.बाबुराम लामिछाने, डा. कञ्चन थापा, डा. चिरिञ्जीवि पोखेरल, डा. भगवान दाहालले मन्त्री यादवका जिज्ञासालाई शान्त पारे ।
कार्यक्रममा उपस्थित भएका वन सचिव डा. पेमनारायण कँडेलले सहजीकरण गर्दै गर्दा मन्त्री यादवले सोधे, बाघ साँच्चिकै राजा हो ? यसलाई किन जंगलको राजा भनेको हो ?

कार्यक्रममा उपस्थित डा. नरेश सुवेदीले बाघलाई रोयल भन्नुपर्ने कम्तिमा १० वटा टिप्स दिएपछि मन्त्री यादवले खुसी हुँदै भने, मैले त अर्कै सोचेको थिए, यो नाम त राजामहाराजाहरुले राखेको नाम होला भनेर । तर त्यसो रहेनछ । बाघ साँच्चै बाघ भएरै त्यसलाई जंगलको राजा भनेको रहेछ ।

बाघ गणना सुरु हुनु अघि मन्त्रालयका सचिव डा. पेमनारायण कँडेल, राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेल, वन तथा भूसंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का, नेपाली सेनाका जर्नेल हिमांशु खड्का,डब्लुडब्लुएफका राष्टिय प्रतिनिधि डा.घनश्याम गुरुङ, जेडएसएलका राष्टिय प्रतिनिधि डा. हेमसागर बराल तथा एनटीएनसीका सदस्यसचिव शरद अधिकारीले फिल्ड स्तरमा भएका गतिविधि बारे जानकारी लिएका छन् ।

फिल्डस्तरमा खटिने कर्मचारीको लागि कुनै कमी कमजोरी हुन नदिन र सुरक्षा चुनौतीलाई सम्बोधनको व्यवस्था मिलाउन आवश्यक निर्देशन समेत दिइएको छ ।

चितवन पर्सा कम्प्लेक्सबाट सुरु गरिने गणनाका लागि सौराहामा मन्त्रालयका उच्च अधिकारी, संरक्षण साझेदार संस्थाको नेतृत्व टोली तथा चितवन राष्टिय निकुञ्जका प्रमुख संरक्षण् अधिकृत हरिभद्र आचार्य र पर्सा राष्टिय निकुञ्जका प्रमुख मनोज साह सहितको प्राविधिक टोली सक्रिय भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here