एडीबीले गर्दा भैरहवा डुवानमुक्त सहर बन्दै

भैरहवा । भैरहवा सहरको डुवानको समस्या एसियाली विकास बैँकले समाधान गरिदिने भएको छ ।
एसियाली विकास बैंकको सहयोगमा एकीकृत सहरी विकास आयोजना र सञ्चालित क्षेत्रीय सहरी विकास योजना अन्तर्गत डुवान नियन्त्रण तथा पानी निकासका कार्यक्रमहरु व्यवस्थित ढल निर्माण भएपछि भैरहवाको डुवान समस्या समाधान हुने भएको छ ।

भैरहवा सहर तराईको समथर भूभागमा छ । हरेक बर्खा नलाग्दै गर्दा सहरबासी घरभित्र पानी पस्ने डरमा त्रसित हुने गरेका छन् । बर्खामा सहरका सयौँ घरमा बाढीको फोहोर पानी पस्ने गरेको थियो । तर अब पानीको निकासको लागि आयोजना अन्तर्गत सडकको दुवै तर्फ सडक सतह ढल, मध्यम ढल र मुख्य सतह ढल गरी तीन किसिमको ढल निर्माण गरिएका छन्

सडकमा जम्मा हुने पानीलाई सडक सतह ढल हुँदै मध्यम ढलमा लगिने र मध्यम ढलमा जाने पानीलाई मुख्य सतह ढल (ठुलो नाला) हुँदै नदीमा निकास हुने गरी काम भइरहेको आयोजना प्रमुख शैलेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

सहरको पश्चिम भूभागको क्षेत्रमा जम्मा हुने पानीलाई घाघरा नदी र अन्य भूभागमा जम्मा हुने पानीलाई डण्डा नदीमा निकास हुने गरी काम भइरहेको छ । हाल सहरको अधिकांश वडा गल्लामण्डी, हिमाली पथ, उदयपुर, जनक पथ, रुद्र पथ, डाँडा गाउँ, ज्योति पथ, हाटबजार, खजाना पथ, बेलहिया लगायत क्षेत्रमा सडक सतह ढल, मध्यम ढल र मुख्य सतह ढल निर्माण गरिएको छ । सहरमा सम्पन्न भएको एकीकृत सहरी विकास आयोजना अन्तर्गत सडक सतह, मध्यम र मुख्य सतह ढल ५३ किलोमिटर र हाल सञ्चालित क्षेत्रीय सहरी विकास योजना अन्तर्गत सडक सतह, मध्यम र मुख्य सतह ढल ६२ किलोमिटर गरी सहरमा कुल एक सय १५ किलोमिटरसम्म ढल निर्माण भइरहेको आयोजनाका इन्जिनियर यमलाल पाण्डेले बताउनुभयो ।

भैरहवा मात्र १० घण्टा निरन्तर एक सय ५० मिलिमिटरको औसतमा वर्षा भएमा पाँच करोड ४० लाख ५४ हजार लिटर वर्षा हुन्छ । यो सँगै अन्य क्षेत्रबाट पनि सहरमा १५ करोड लिटर पानी सहरमा आएपनि करिब साढे २० करोड लिटर पानी मात्र ढलमा पुग्ने देखिन्छ । सहरमा निर्माण भएको ढलको क्षमता ३० करोड लिटरको रहेको छ । क्षमता भन्दा बढी पानी ढलमा जम्मा हुने बेलासम्म पानीको निकास हुने हुँदा डुबान हुने अवस्था नदेखिएको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here