बर्दिया । बाँके बर्दिया कम्प्लेक्समा बुधबारदेखि बाघ गणना कार्य शुभारम्भ भएको छ ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सहसचिव शिबकुमार वाग्लेले नेपालले बाघको संरक्षणमा गरेको उल्लेखनीय कार्यले विश्व समुदायलाई नै चकित पारिरहेको बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले यस पटकको बाघ गणना ऐतिहासिक भएको बताए ।
उनले भने, यस पटक नेपालले अन्तर्राष्ट्रिय समुदायका अगाडि बाघको संख्या दोब्बर बनाउने भन्ने गरेको बाचा पूरा हुँदैछ । यो गणनाले नेपालका बाघको संख्या २५० भन्दा बढी भएको देख्न पाइनेछ ।
वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक डा.राजेन्द्र केशीले संरक्षित क्षेत्रमा नभई र त्यो वरीपरीका सामुदायिक तथा राष्ट्रिय वनमा समेत बाघ पाउन थालेकोमा खुसी व्यक्त गरे ।
लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव पशुपतिनाथ कोइरालाले बाघ संरक्षण र मानव वन्यजन्तु द्धन्द्धका घटना न्यूनीकरण गर्न तीनै तहका सरकारको समन्वयमा काम हुनुपर्ने बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले बाघको उचित संरक्षण भएकाले विगतमा बाघको संख्या बढ्दै गएको धारणा व्यक्त गरे ।
जुलोजिकल सोसाइटी अफ लण्दनका राष्ट्रिय प्रतिनिधि डा. हेमसारग बरालले यो पटकको बाघ गणनाले नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा उच्च राख्न अवसर प्रदान गर्ने बताए ।
डब्लुडब्लुएफका डा. कञ्चन थापाले बाघ गणनाको प्राविधिक पक्ष र गणना गर्दा सुरक्षाको कुरालाई बढी ध्यान दिन आग्रह गरे ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठ, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद आचार्य,बर्दिया जिल्ला समन्वय समितिका अध्यक्ष शंकरप्रसाद थारु लगायतका वक्ताले बर्दिया राष्ट्रिय निकुञ्जमा संरक्षणमा भएको कार्य, सफलता र चुनौतीका बारेमा बोलेका थिए ।