काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा सरकारले डा. कृष्ण प्रसाद ओली (केपी ओली) लाई नियुक्त गरेको छ ।
लामो समयसम्म खाली रहेको अध्यक्ष पदमा डा. ओली नियुक्त भएका हुन् । अघिल्ला वन मन्त्री शक्ति बस्नेतले मन्त्री पदबाट राजीनामा दिएपछि पनि सो पदमा बस्नेत नै अध्यक्ष रहेका थिए ।
हाल राष्ट्रिय योजना आयोगका सदस्य पदमा कार्यरत डा. ओली प्रधानमन्त्री केपी ओलीका नाताले काका पर्ने व्यक्ति हुन् । बिभिन्न गैर सरकारी संस्थामा काम गर्दै आएका डा. ओलीलाई प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगका सदस्य बनाएका थिए । यही २७ गते प्रधानमन्त्री ओलीले संसदमा आफ्नो विश्वासको मत लिने कार्यक्रम रहेको केही दिन अघि डा. ओलीलाई अध्यक्षमा मनोनयन गराएका छन् ।
वन, वातावरणको राम्रो ज्ञान भएका डा. ओलीले हालसम्म सरकारी तथा गैर सरकारी जुनसुकै संघ/संस्थाले आयोजना गरेका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कुनै पनि कार्यक्रममा सहभागी हुन छाडेका छैनन् भने विज्ञता अनुसारको लामै भाषण दिने व्यक्तिका रुपमा चिनिने गरेका छन् ।
केपी ओलीले अघिल्ल्ला वन तथा वातावरण मन्त्री शक्ति बस्नेतलाई अध्यक्ष दिएका थिए । बस्नेतले राजीनामा दिएपछि नयाँ नियुक्त वन मन्त्री प्रेमबहादुर आलेले आफुले अध्यक्ष पाउनु पर्ने माग राखेपनि आलेलाई सो जिम्मेवारी दिइएको थिएन ।
पटक पटक अध्यक्षको जिम्मेवारी माग्दा पनि मन्त्री आलेलाई अध्यक्ष नदिएका प्रधानमन्त्री ओलीले यस अघि कोषको अध्यक्षमा कमला ओलीलाई नियुक्त गर्ने योजना पनि बनाएका थिए । पछि कमला ओलीलाई राष्ट्रपति चुरे विकास समितिको सदस्यमा नियुक्त गरेका छन् ।
चुरेमा नियुक्तिको कहानी
चुरेको अध्यक्षमा क्याविनेटले डा. किरण पौडेललाई नियुक्त भएको निर्णय सार्वजनिक भयो, जति बेला नेपाल वन प्राविधिक संघको अध्यक्षमा डा. किरण पौडेलको टीम चुवाव लडि रहेको थियो । पौडेलको टीमलाई हराउन नेकपा माओबादी समुह खुलेर र एमालेकै नेपाल ÷खनाल समुह लुकेर लागि रहेको बेला उनको सो पदमा नियुक्ति भएको थियो । सो नियुक्तिले केहीलाई आहा र केहीलाई डाहा हुनु स्वभाविकै थियो ।
क्याविनेटमा निर्णय भएको कुरा सार्वजनिक भएको भोलिपल्ट मूख्यसचिवले वन मन्त्री आलेलाई फोन गरेर अध्यक्षमा निर्णय भएका डा. किरणलाई सदस्यमा राखिने र अध्यक्षमा कमला ओलीलाई राख्नका लागि निर्णय सच्याउन थालिएको खवर प्रवाह भयो ।
वन प्राविधिक संघमा चुनाव लडिरहेका बेला सरकारले निर्णयमा फेरबदल गर्दा त्यसको असर प्रत्यक्ष रुपमा चुनावमा पर्न सक्ने भन्दै मन्त्री आलेले तत्काल त्यसको प्रतिबाद गरेको बालुवाटार स्रोतको भनाई छ । मन्त्री आलेले यो कुरा एमाले भित्रका केपी ओली समर्पित वन प्राविधिकहरुसँग पनि प्रसार गरे । त्यसपछि एमालेभित्रका प्रधानमन्त्री केपी ओली समर्पित वन प्राविधिक तथा तत्कालिन वन सचिव डा. विश्वनाथ ओलीसहितले प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसम्म पुर्याएपछि डा. किरणको अध्यक्षमा थमौती र सदस्यमा कमला ओलीको नाम समावेश गरिएको हो ।
कमला ओलीलाई चुरेमा राख्नै पर्ने भएपछि संरक्षणमा लामो समय बिताएका नेपाली सेनाका जर्नेल बाबुकृष्ण कार्कीको नाम काटिन पुगेको थियो भने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा करारमा खरिदारको जागिर खाएका, वन वातावरणका विषयमा अनभिज्ञ व्यक्तिलाई समितिमा सदस्यको जिम्मेवारी दिइएको छ ।
आलेलाई किन विश्वास गरिएन
राष्ट्रिय प्रकृति संरक्षण कोषमा सदस्यसचिव नभएको लामो समय भइसकेको थियो । यस अघि सदस्यसचिवको जिम्मेवारी पाएका यज्ञनाथ दाहाल सुदूरपश्चिम प्रदेशमा सरुवा भएको पनि महिनौ दिन बितिसकेको थियो ।
सदस्य सचिवका लागि कोष भित्रकै डा.सिद्धार्थ बज्राचार्य देखि लिएर डा. किरण पौडल, वन तथा भूसंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का, पूर्व जर्नेल बाबुकृष्ण कार्की लगायतका गिनेचुनेका व्यक्ति लागिरहेको बेला अघिल्ला वन मन्त्री बस्नेतले आफुले पदबाट राजीनामा दिनु भन्दा दुई दिन अघि राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा पत्रकारिताका पृष्ठभूमिका शरद अधिकारीलाई नियुक्ति दिएर घर हिँडे ।
अधिकारीलाई नियुक्ति दिने ताका तत्कालिन अवस्थामा पार्टी भित्रको केपी ओली र प्रचण्ड माधब नेपालको पक्षको रस्साकस्सी चलिरहेको थियो । वन मन्त्री बस्नेत लगायत माओबादीबाट नियुक्त भएका सबै मन्त्रीले सिँहदरबार आउन छाडिसकेका थिए । अनि मन्त्री बस्नेतले अधिकारीलाई पत्रमा हस्ताक्षर गरेको स्थान मन्त्रालय नभएर मन्त्री क्वाटर हुन पुगेको हो ।
आफुले राजीनामा दिनु दुई दिन अघि मन्त्री क्वाटरमा बसेर अधिकारीलाई पत्र थमाएको खवर प्रधानमन्त्रीलाई हप्तादिन पछि मात्र थाहा भयो । तत्कालिन वन सचिव डा. विश्वनाथ ओलीलाई त मन्त्री बस्नेतले बोद्धार्थ दिएर जानकारी दिने फर्जी पूरा गरेका थिए ।
कोषका अध्यक्ष मन्त्री बस्नेत भएपनि प्रधानमन्त्रीसँग सल्लाह गरेर नियुक्ति गर्ने विगतको परम्परालाई तोडेर खुमलटारका कार्यकारी अध्यक्षको निर्देशनको पालना बमोजिम अधिकारीको नियुक्ति भएपछि कोषको अध्यक्ष पदसँग प्रधानमन्त्री ओलीको गहिरो छाप बसेको थियो । प्रधानमन्त्री ओलीलाई अधिकारीको नियुक्तिप्रति चित्त बुझेको थिएन ।
फेरी अध्यक्ष नियुक्त गर्ने बेलामा बस्नेतको जस्तै चतुर्याई गरेर अर्कैले नियुक्त पाउने आशंकामा बसेका प्रधानमन्त्री ओलीले वर्तमान वन मन्त्री आलेलाई अध्यक्ष नदिई खाली राखेका थिए । पछिल्लो समयमा आफ्नै काकालाई सो पद काम लागेको छ ।