काठमाडौँ । सडक विभागका पूर्व महानिर्देशक अर्जुनजङ्ग थापाले चितवन राष्ट्रिय निकुञ्जले सडक निर्माण गरिरहेका ठेकेदारलाई पक्राउ गर्न जारी गरेको घटनाको बिरोध गरेका छन् ।
उनले पक्राउ पूर्जी जारी गर्ने कार्यलाई निकुञ्ज प्रशासनको बहादुरी भएको संज्ञा दिँदै घोचपेच समेत गरेका छन् ।
बाघ, हात्ती मात्र पाल्ने भन्ने रटान दिने तर आहाराको व्यवस्थापन गर्न नसक्ने अनि बस्तीमा आएर क्षति पुरयाएको घटनाको अध्ययन अनुसन्धान भएको खै भनेर सिँगो वन तथा वातावरण मन्त्रालय र निकुञ्ज विभागको आँखा खुलाउने कोशिस समेत गरेका छन् ।
उनले सामाजिक सञ्जालमा निकुञ्जले गरेको सो कार्यको खुलेर बिरोधका अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।
पूर्व महानिर्देशक थापाले निकुञ्जका कर्मचारीहरु पूर्वाधार निर्माणका जिम्मेवार निकाय सडक, रेल, खानेपानी, डोली, सिंचाइ, विद्युतसँंग बसेर निकुन्ज तथा वनक्षेत्रमा अपनाउनु पर्ने मापदन्ड निर्माण गर्ने, तिनको कार्यान्वयन गर्ने, तिनका समस्याहरु सुनिदिने, सल्लाह सुझाव लिने र दिने बारे छलफल गरे ‘सानो भइन्छ’ भन्ने सोचका बसेका पनि आरोप लगाएका छन् । यो सोच हावी भइन्जेल समस्या झन बल्झिने समेत उनको भनाई ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘‘प्रत्येक वर्ष जंगली जनावरको आक्रमणबाट १५÷२० जना मानिसको मृत्यु र सयौंजना घाइते हुने गरेका छन् । तर गत हप्ता चितवनको गोन्द्राङस्थित महेन्द्रराजमार्गमा नाली निर्माण गर्न खनेको खाल्डोमा अन्यत्र घाइते भएर निकुन्जले लगाएको मजबुत तारजाली भत्काएर, जालीमा रगत लतपत पारेर, करिब १२ वर्षको गैडा नाली निर्माण गर्न खनेको खाल्डोमा आएर मर्यो । गत श्रावणबाट हालसम्म चोरी शिकार र आपसमा जुधेरै डेढ दर्जन गैडाहरु मरिसके । जुधेका गैडा मर्न कुनै खाल्डोको जरुरी हुन्न, अन्यत्रको घटनाले यही बताउछ ।’’
उनले अगाडी लेखेका छन्, ‘‘यही सिलसिला त्यो निर्माण संचालन गरिरहेका निर्माण व्यवसायीलाई पक्राउ पुर्जी जारी गरी निकुन्ज प्रशासनले बहादुरी (?) प्रदर्शन गरेको छ । पूर्वाधारमा जिम्मेवार निकायहरु सडक, रेल, खानेपानी, डोली, सिंचाइ, विद्युतसंँग बसेर निकुन्ज तथा वनक्षेत्रमा अपनाउनु पर्ने मापदन्ड निर्माण गर्ने, तिनको कार्यान्वयन गर्ने, तिनका समस्याहरु सुनिदिने, सल्लाह सुझाव लिने र दिने, बारे छलफल गरे सानो भइन्छ भन्ने सोच वन सम्बन्धी निकायमा हावी भएको देखिन्छ ?

उनले अगाडि लेखेका छन्, ‘‘जंगली जनावरहरुलाई निकुन्ज र वनक्षेत्रमा खानाको कमी भएर किसानले लगाएको बालीनाली खान वस्तीमा पसेपछि जनावर र मानिसको भिडन्त हुने गरेको छ । निकुन्जहरुले बाघ, गैंडा, हात्ती जस्ता जनावरलाई कति खाना चाहिन्छ, कसरी पुरयाउने, बस्तीतिर जानबाट कसरी निरुत्साहित गर्ने जस्ता आधारभूत कुराहरुमा ध्यान नदिई जनावरको संख्या बढाउने एकोहोरो रटाइले कसैको हित हुने देखिन्न । यसमा सकारात्मक सोच पलाओस् ।’’