विप्लव माओबादीको चन्दा आतंक, पण्डित माथि हातपात

काठमाडौँ । नेकपा विप्लव माओबादीका कार्यकर्ताले कैलालीमा एक जना सहायक वन अधिकृत माथि कार्यालय भित्रै हातपात र दुव्र्यवहार गरेका छन् ।

कैलाली जिल्लाको डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत पचमुडिया सव डिभिजन वन कार्यालय प्रमुखका रुपमा कार्यरत सहायक वन अधिकृत विश्व राज पण्डितमाथि विप्लव कार्यकर्ताले हातपात र दुव्र्यवहार गरेका हुन ।

उनीहरुले सोमबार साँझ चार बजेतिर कार्यालय परिसरमा आएर सहायकत वन अधिकृत पण्डित माथि हातपात र दुव्र्यवहार गरेका छन् ।


घटना कसरी भयो ?

बसन्ता जैविक मार्गमा सुकुम्बासीले अतिक्रमण बढाएको भन्ने सञ्चारमाध्याममा खबर आउन थालेपछि प्रदेश सभा अन्तर्गतको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले गत हप्ता सो क्षेत्रको स्थलगत भ्रमण गरेको थियो ।

बसन्ता जंगल क्षेत्र पण्डित कार्यरत रहेको सव डिभिजन कार्यालय पचमुडियाको कार्यक्षेत्र भित्र पर्छ । आफ्नो कार्यक्षेत्र पर्ने स्थानमा समितिका पदाधिकारीको भ्रमण भएकाले सहायक वन अधिकृत पण्डितले सहजीकरण गरेका थिए ।

समितिका पदाधिकारीको स्थलगत भ्रमणका बेला त्यहाँ रहेका सामुदायिक वनका पदाधिकारीहरुले विप्लव माओबादी कार्यकर्ताले चन्दा आतंक फैलाएको गुनाशो व्यक्त गरेका थिए । विप्लव समुहले पैसा उठाएर सुकुम्बासीलाई बसाल्ने गरेको चौतर्फि त्यहाँ व्यक्त भयो ।

समितिका पदाधिकारीले प्रदेशको वन मन्त्रालयलाई तत्कालै त्यहाँका सामुदायिक वन र ती वनसँग सरोकार राख्ने सबै सूचना दिन निर्देशन दियो ।

समितिको टोलीसँग धनगढीबाटै सञ्चारकर्मीको पनि सहभागिता रहेकोले स्थलगत रुपमा विप्लव माओबादीले चन्दा आतंक तथा सुकुम्बासीलाई रकम लिएर अतिक्रमण गरी बस्ती बसाल्न लगाएको लगायतका कुराहरु समेटिएका समाचारहरु श्रृखंलाबद्ध बाहिर आउन थाले ।

विप्लवको स्थानीय तहमा देखिएको आतंकको समाचार आउने क्रम चल्दै थियो । सोमबार बिहानबाट कार्यालयमा सहायक वन अधिकृत पण्डितले आफ्नो सधैको जस्तै रुटिनमा काम गरे । सोमबार अघिल्ला दिनभन्दा सूर्यको राप थोरै भएपनि लागेको थियो । चार बज्दा नबज्दै सहायक वन अधिकृत पण्डित कर्मचारीहरुसँग कार्यालय पछाडि पट्टीको खुला चउरमा बसिरहेका थिए ।

यसैबीचमा एक जना अपरिचित व्यक्ति आएर पण्डित सर को हुनुहुन्छ ? भनेर प्रश्न गर्यो ।
सहायक वन अधिकृत पण्डितले किन के भयो ? पण्डित भनेको म हुँ भनेपछि सरसँग थोरै काम छ, एक छिन अफिसमा आउनुहोस् भनेर बोलायो ।

पण्डित पनि आफ्ना सहकर्मी कर्मचारीलाई एक छिन आउछु भनेर कार्यालय कोठाभित्र पसे । कार्यालय कोठामा यस अघि नै धेरै मानिस प्रवेश गरिसकेका थिए ।

घटना भइसकेपछि सोमबार राती पण्डितले नेपालकथासँग भने, स्थानीय व्यक्तिहरु कुनै समस्या लिएर आए होलान भन्ने लागेको थियो । म कुर्शिमा बस्न पाउँदै एकजनाले तपाईको धारणा के हो भनेर प्रश्न गर्यो ? अर्काेले तपाईको बिचार के हो ? भनेर तुरुन्तै प्रश्न गर्यो ।

मैले के विषय भनेर सोध्न नपाउँदै ती व्यक्तिहरुले हामी विप्लवका कार्यकर्ता हौँ भने । तपाईले धनगढीबाट समितिका मानिस बोलाएर हाम्रो बदनाम गराउने । अब तपाईलाई बाँकी छोड्दैनौँ भनेर मलाई तीन जनाले समाते, एउटाले खल्तिबाट कलर निकाल्यो, र मेरो मुखमा दल्यो । अर्काेले मेरो फोटो खिच्यो र कार्यालयको कोठाको बाहिरबाट चुकुल लगाएर भागे ।

पण्डितले भने, मैले बोल्नै पाइन । मलाई समाते पछि हतियार निकाल निकाल भन्दै थिए, मैले जोरसँग कराएर मेरो गल्ति केही छैन, मारे मार्नुहोस् भने । तर मलाई हानपिट भने गरेनन् ।

विप्लब कार्यकर्ताहरुले कोठाबाट बाहिर निस्किदा फेरी पनि धनगढीबाट समितिका मानिस बोलाउने काम गरेर हामीले गरेका काम देखाउने, मिडियामा ल्याउने काम गर्यो भने ज्यान बाँच्दैन है भनेर गएको उनले बताए ।

बाहिर चुकुल लगाएर भागेको हुँदा भवन पछाडी बसेको कर्मचारीलाई फोनमा बोलाएर चुुकुल खोल्न लगाएको पण्डितले बताए ।

कर्मचारीले यति ठूलो घटना हुँदा केही सहयोग गरेनन् ? नेपालकथाको जिज्ञासामा पण्डितले भने, म कार्यालयभित्र छिरेको दुई÷तीन मिनेटमा त उनीहरुले मलाई समातेर कलर मुखमा दलेर भागिसके । होहल्ला पनि हुन पाएन । मैले बोल्नै पाइन । एक पटक कराएको मात्र के थिए, हतियार निकाल निकाल भनेहाले ।

बसन्ता क्षेत्रमा बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका पाँच वटा सामुदायिक वनबाट विप्लव कार्यकर्ताले झण्डै १० लाख रुपियाँ चन्दा उठाइसकेका छन् ।

त्यति मात्र नभई सरकारले सुकुम्बासीलाई जग्गा दिन आयोग गठन गरेपछि विप्लवका कार्यकर्ताले रकम लिएर वनजंगलका छेउमा घर टहरा बनाएर बसाल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here