क्लिन जिरी, ग्रिन जिरी र आर्गनिक जिरी

काठमाडौँ । नेपालको स्विटजरल्यान्ड भनेर चिनिने दोलखाको जिरीलाई क्लिन जिरी, ग्रिन जिरी र आर्गनिक जिरी बनाउने अभियानमा नगरपालिका सुरु गरेको छ । जिरी नगरपालिका प्रमुख टंक जिरेलले क्लिन जिरी, ग्रिन जिरी र आर्गनिक जिरी वनाउने अभियानमा नगरपालिका तिव्र गतिमा लागेको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले पर्यटन प्रबद्र्धनका लागि अघि सारेको पञ्च बर्षिय योजना अन्तर्गत ९ वटा पार्क निर्माण कार्य धमाधम सुरु भएको उहाँले बताउनुभयो ।
त्यसैगरी घुम्न आउने पर्यटकलाई कोठा भाडामा ५० प्रतिशत छुट दिने यहाँका होटल व्यवसायीले जनाएका छन् ।
भूकम्पपछि सुस्ताएको यहाँको पर्यटन व्यवसायलाई पुनः जीवन्त बनाउने उद्देश्यले माघ १५ देखि तीन महिनाका लागि यहाँका होटल व्यवसायीले यस्तो छुटको प्याकेज ल्याइएको हुन ।
माघ १५ गतेदेखि वैशाखको पहिलो सातासम्म कोठा भाडामा ५० प्रतिशत र खानाका परिकारमा समेत विशेष छुट गर्ने निर्णय भएको होटल व्यवसायी संघ जिरीका अध्यक्ष वसन्त कुमार प्रधानले जानकारी दिनुभयो ।
जिरी भ्रमणमा आउने पर्यटकको संख्यामा कमि आई होटल तथा लजहरु खालि नै बस्न थालेपछि जिरी नगरपालिकाका प्रमुख टंक जिरेल, जिरी उद्योग वाणिज्य संघका पदाधिकारी र होटल व्यवसायी संघका पदाधिकारी सम्मिलित बैठकले पर्यटन प्रबद्र्धनका लागि एकीकृत प्याकेज दिने निर्णय गरेको होटल व्यवसायी संघ जिरीका अध्यक्ष प्रधानले बताउनुभयो ।
२०७२ सालमा आएको विनाशकारी भूकम्पको कारण ध्वस्त भएको जिरी बजार दुईवर्ष पछि सुन्दर नगरीका रुपमा उठेको छ । जिरी नगरपालिकाको यो बजार पुरानो स्वरुप बदल्दै नयाँ स्वरुपमा उठेको हो ।
हिजोका दिनमा माटोले बनेका घरहरु भूकम्पले ढुँगा माटाका घर ढालेपछि जिरी बजारमा सिमेन्ट लगाइएको पक्की घर बनेका छन् । नयाँ घरमा रंगरोगन गरिएपछि बजार निकै आकर्षक देखिएको छ ।
अब त यहाँको सडक पहिला जस्तो साँघुरो छैन, निकै फराकिलो बनेको छ । हरेक घरमा सवारी पार्किङ गर्ने खुल्ला ठाउँ छाडिएको छ । भूकम्पले होटलहरु समेत भत्किएपछि जिरी घुम्न जाने पर्यटकको सङ्ख्या करिब एक वर्षजति लगभल ठप्प भएको थियो ।
भूकम्पको एक वर्षसम्म न बासको ठेगान न गाँसको ठेगान जस्तो भयो । घुम्न आउने मानिस पनि ठप्प भए । आए पनि बस्ने ठाउँ भएन – होटल व्यवसायी संघका कोषाध्यक्ष वालकृष्ण श्रेष्ठले विगतलाई सम्झिनुभयो ।
तर अहिले अवस्था फेरिइसकेको छ । भूकम्प पछिको पुनःनिर्माणसँगै बजार नयाँ स्वरूपमा विकास भएको छ । जिरी घुम्न आउने मानिसहरुको संख्या पनि विस्तारै बढ्दै गएको छ । स्वदेशी मात्र नभई विदेशी पर्यटकहरु पनि जिरी पुग्न लागेको जिरी होटलका सञ्चालक धोज बहादुर जिरेलले बताउनुभयो ।
पहाडको बीचको सानो उपत्यका जिरी बजार प्राकृतिक मनोरम र चिसो हावापानी भएको क्षेत्र हो । जिरी बजार घुम्न वाहृय तथा आन्तरिक पर्यटकहरु बाक्लै पुग्ने गर्दछन् । यहाँ बजार बसाउनको लागि स्वीस सरकारले ठूलो सहयोग गरेको थियो। सिन्धुपाल्चोकको खाडीचौरदेखि जिरीसम्म सडक निर्माण, जिरीमा प्राविधिक शिक्षालय स्थापना, अस्पताल, गाई फार्म स्थापना लगायतको काममा स्वीस सरकारले सहयोग गरेकै कारण अहिलेको जिरी भएको जिरी उद्योग वाणिज्य संघका अध्यक्ष गेल्बो शेर्पा बताउनुहुन्छ ।
पर्यटकलाई स्वागत गर्न जिरीबासी सधै तत्पर रहेको बताउदै मेयर जिरेरले पर्यटकहरुलाई जिरीको अवलोकन र आर्गनिक वस्तुको स्वाद लिन अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here