चोरीशिकार नियन्त्रण : यस्तो छ बर्दियाको सन्देश

काठमाडौँ । यस पटकको चोरीशिकार नियन्त्रण अभियान दिवस बर्दियामा धुमधामका साथ मनाइएको छ ।

नेपालले यो दिवस विश्व वन्यजन्तु दिवसका दिन पारेर मनाउँदै आएको छ । मानव वन्यजन्तु द्वन्द्वका घटना बढी भइरहने क्षेत्रमा संरक्षण सम्बन्धी जागरणमा थप ऊर्जा थप्ने उद्धेश्यका साथ यो दिवस बर्दियाको गेरुवा गाउँपालिकाको गोलामा विशेष कार्यक्रममा साथ मनाइयो ।

‘वन्यजन्तु संरक्षण र पारिस्थितिकीय प्रणाली पुर्नस्थापनाका लागि युवा जागरण’ भन्ने नाराका मनाइएको यो दिवसले चोरी शिकार नियन्त्रणका लागि स्थानीय तहमा सहकार्य, समन्वय र प्रतिवद्धता जरुरी भएको सन्देश दिएको छ ।

कार्यक्रममा सहभागी स्थानीय समुदाय तथा प्रस्तुत गरिएका सांस्कृतिक झाँकी, प्रहसन र प्रस्तुतीले वन्यजन्तुको संरक्षण मानव अस्तित्वका लागि पनि उत्तिकै आवश्यक रहेको सन्देश प्रवाह गरेको छ ।

बाघ, हात्तीका लागि प्रसिद्धि कमाएको बर्दियाका बासिन्दाले कार्यक्रममा सक्रिय सहभागिता देखाई ‘हाम्रो बर्दिया राम्रो बर्दिया’ भन्ने शब्दावली वन्यजन्तुको संरक्षण विना सफल हुन नसक्ने कुरा व्यक्त गरे ।

विद्यालयका ससाना छात्राछात्र देखि लिएर दुधे बालकका काखमा बोकेर संरक्षण अभियानमा एक्येबद्धता बर्दियाको कार्यक्रममा देखियो ।

थारु भाषामा प्रस्तुत भएका सांस्कृतिक कार्यक्रमले स्थानीय वृद्धवृद्धा, सामान्य साक्षर व्यक्तिलाई समेत मानव र वन्यजन्तुको सहअस्तित्वका लागि आआफ्नो ठाउँबाट लाग्नुपर्ने उत्प्रेरणा जगाएको छ ।

दर्जनौँ विद्यालयका इको क्लवमा आवद्ध विद्यार्थी, शिक्षक, मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ता, सर्वसाधारणहरुको सहभागिता रहेको कार्यक्रममा सबैको एउटै सन्देश थियो, हामीले प्रयास गरेनौँ भने वन्यजन्तु कसरी बाँच्न सक्छन् ?

कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले निकुञ्ज प्रशासनले एक्लैले मात्र वन्यजन्तुको संरक्षण गर्न नसक्ने भएकाले स्थानीय समुदायको प्रभावकारी सहभागिता आवश्यक रहेको बताए ।

बाघ संरक्षणमा बर्दिया राष्ट्रिय निकुञ्जले पाएको सफलतामा बर्दियाका स्थानीय बासिन्दाको उनले स्रहाना गरे । स्थानीय समुदायमा अझै सचेतना तथा जागरणको स्तर उचाईमा पुर्याउन आवश्यक रहेको उहाँको भनाई थियो ।

दुधे बालक काखमा बोकेर कार्यक्रमा सहभागी स्थानीय महिला

उनले भने, वन्यजन्तुको संरक्षणसँगै मानव जातिलाई लाभ हुन सक्ने गरी काम गर्नु नै सहअस्तित्वको विषय हो । त्यसैले वन्यन्तुको संरक्षण गर्दै स्थानीय समुदायले लाभ लिन सक्ने वातावरण सिर्जना गर्नुपर्छ ।

वातावरण मैत्री विकास आजको आवश्यकता भएको प्रसंग उल्लेख गर्दै महानिर्देशक डा. कँडेलले भने, वातावरणीय प्रभाव मूल्यांकन विना विकास गर्न खोज्दा केही समस्या देखा परिरहेका छन् । तिनको समाधानका लागि स्थानीय तहले विशेष सर्तकर्ता अपनाउनुपर्छ ।
कार्यक्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिँह केशीले वन्यजन्तु संरक्षणका लागि गाउँपालिका र निकुञ्ज एकसाथ रहेको घोषणा गरे ।

उनले भने, वन्यजन्तु संरक्षणका लागि निकुञ्जका हरेक कदमसँग गाउँपालिका सँगै रहेर काम गरेको छ । आगामी दिनमा यसलाई थप प्रभावकारी रुपमा लगिने छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले वन्यजन्तुको संरक्षण पहिलो प्राथमिकता भएको बताउँदै विकास वन्यजन्तु तथा वातावरण मैत्री हुनुपर्नेमा जोड दिए ।

उनले भने, हामी मानव हौँ, हाम्रो पक्षमा बोल्ने समाज, समुदाय, घरपरिवार छ । तर ती बोल्न नसक्ने वन्यजन्तुको लागि हामीले काम गर्न सकेनौँ भने ती सदाका लागि लोप भएर जानेछन् । त्यसैले विकास चाहिन्छ तर वातावरण मैत्री विकास आवश्यक छ ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष नेत्रराज शर्माले बर्दियाबाट १५ जना युवाबाट सुरु गरिएको अभियानले देशव्यापी सफलता प्राप्त गरेको बताए ।
उनले भने, संरक्षणमा लागेर स्थानीय समुदायले पाउने भन्दा पनि गुमाउने स्थिति नआओस् भन्ने तर्फ सबै सचेत हुनु जरुरी छ । केही पाउनका लागि संरक्षण गर्ने पनि होइन, संरक्षण मानव वन्यजन्तु सहअस्तित्वका लागि गर्ने कर्म हो ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले बर्दिया राष्ट्रिय निकुञ्जमा संरक्षण गतिविधि प्रभावकारी रुपमा सञ्चालन भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल भएको बताउँदै संरक्षण सँगसँगै थपिएका चुनौती समाधान गर्न स्थानीय बासिन्दा, स्थानीय तह र निकुञ्जबीच अझ सहकार्य जरुरी भएको धारणा व्यक्त गरे ।

बर्दिया राष्ट्रिय निकुञ्जमा २०६७ साल फागुन २७ गतेबाट चोरी शिकार नियन्त्रण गर्न युवालाई समेटेर सुरु गरिएको चोरी शिकार नियन्त्रण युवा अभियानले कालान्तरमा राष्ट्रिय अभियानको रुप लिएको छ ।

पछि सरकारले यो अभियानलाई देशव्यापी बनाउन राष्ट्रिय पर्वको रुपमा घोषणा गर्दै हरेक वर्षको विश्व वन्यजन्तु दिवसको अवसरमा यो अभियानको रुपमा मनाउन थालिएको छ ।
तत्कालिन अवस्थामा बर्दियामा १५ जना युवाको सहभागितामा चोरी शिकार नियन्त्रण अभियान सुरु गरिएको थियो ।

यो अभियानले विद्यालय स्तरमा इको क्लवको गठनमा सक्रियता देखाउँदै गएपछि हरेक विद्यालयमा इको क्लव र इको शिक्षक समुह गठन भएका छन् । देशभरी सयौँ इको क्लव गठन भएका छन् ।

हाल देशभरी ११०० भन्दा बढी चोरी शिकार नियन्त्रण इकाई गठन भएर युवालाई सक्रिय गरिदै आइएको छ भने ती इकाई मार्फत महिला, वृद्धवृद्धालाई पनि संरक्षण अभियानमा जागरण फैलाउने काम भइरहेको छ ।

बर्दियामा मात्र यो अभियानले १२ औँ संस्करण मनाइसकेको छ भने राष्ट्रिय स्तरमा यो अभियानले ८ औँ राष्ट्रिय दिवसमा रुपमा मनाइ सकेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जले संरक्षण अभियानमा सक्रिय युवा, महिला, समाजसेवी तथा नागरिक समाजका व्यक्तिलाई सम्मान गरेको छ । प्रकृतिसँग खेलकुट कार्यक्रमलाई जोड्न बिभिन्न किसिमका खेलकुद कार्यक्रम सञ्चालन गरी युवालाई सक्रिय गराइएको थियो ।

गीत संगित तथा स्थानीय थारु समुदायका बिभिन्न सांस्कृतिक झाँकी मार्फत संरक्षणप्रति सचेतना फैलाउने काम पनि सम्पन्न भए । कार्यक्रममा संरक्षण साझेदार संस्था डब्लुडब्लुएफ, जेडएसएल, एनटीएनसीका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here