काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेल नेपालका तर्फबाट भाग लिन चैतको दोस्रो हप्ता अमेरिका जाने भएका छन् ।
संयुक्त राष्ट्रसंघको वातावरण सम्मेलन सम्बन्धी ५० औँ वर्षगाठका अवसरमा आयोजना हुने दुई दिने सचिवस्तरीय तयारी बैठकमा भाग लिन सरकारले पठाउने निर्णय गरेपछि सचिव कँडेल अमेरिका जान लागेका हुन् ।
५० वर्ष अघि संयुक्त राष्ट्र संघले वातावरण संरक्षण, सम्वद्र्धन सम्बन्धी सचेत हुँदै पहिलो पटक स्वीडेनको स्टकहोममा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो ।
एसियाबाट नेपाल लगायतका अरु दुई मुलुकको सहभागिता हुने सो बैठकले आगामी जुन महिनामा स्टकहोममा आयोजना हुने लागेको मन्त्रीस्तरीय बैठकका एजेण्डाहरु तयार पार्ने छ ।
सचिव डा. कँडेलका अनुसार सचिव स्तरीय बैठकले ५० वर्षको अवधिमा वातावरण संरक्षण, जलवायु परिवर्तन, अनकुलन तथा न्यूनिकरण लगायतका विषयमा गरिएका प्रयास, प्राप्त सफलता, चुनौती तथा आगामी कार्यदिशा बारे छलफल गरी मन्त्रीस्तरीय बैठकका लागि तयारी गर्ने कार्यक्रम रहेको छ ।
डा. कँडेलले भने, हालसम्म गरेको सबै कामको एक पटक रिभ्यु हुन्छ । त्यसलाई मन्त्रीस्तरीय बैठकमा पेश गरिनेछ र त्यहाँ पनि छलफल भई आगामी दिनमा विश्व मानव जगतले वातावरण सम्बन्धी लिनुपर्ने बाटो पहिल्याउन मद्धत गर्नेछ ।
(मन्त्रिपरिषदको निर्णय)
