हिमाल बचाउन विश्व समुदायलाई नेपालको आग्रह

न्यूरोर्क । मानव जातिलाई स्वच्छ पानीको आपूर्ति गर्नमा अहम् भूमिका खेलिरहेको हिमाली क्षेत्रको संरक्षण र बचाउमा लाग्न विश्व समुदायलाई नेपालले आग्रह गरेको छ ।

नेपाल लगायतका केही मुलुकको भूगोलमा हिमाल रहेको भएतापनि यसको प्रभाव क्षेत्र तल्लो तटीय क्षेत्रका धेरै मुलुक भएकाले हिमालमा परेको प्रभावले विश्वका दुई तिहाई जनसंख्या प्रभावित हुने तर्फ सबैको ध्यान जानु पर्ने कुरालाई पनि नेपालले स्मरण गराएको छ ।

संयुक्त राष्ट्रसंघीय पानी सम्मेलनका अवसरमा नेपालका तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व गरिरहेका खानेपानी मन्त्री अब्दुल खानले यस्तो कुरा बताएका हुन् । अमेरिकाको न्यूरोर्कमा आयोजना भइरहेको दोस्रो पानी सम्मेलनका अवसरमा मन्त्री खानले पानीको सदुपयोग तथा पानीको स्रोतको संरक्षणका लागि स्पष्ट र कठोर कार्ययोजना निर्माण गर्नुपर्ने पनि बताए । नेपालले पानीजन्य दीगो विकासको लक्ष्य र उपलब्धी हासिल गर्न निकै चुनौती खेपीरहनु परेको कुरा पनि उनले बताएको छ ।

उनले भने, नेपालमा ९५ प्रतिशत मानिसमा आधारभूत रुपमा पानीको पहुँच पुगेको छ तर व्यवस्थित किसिमका पानीको आपूर्ति जम्मा १९ प्रतिशतमा मात्र पुगेको यथार्थ अवस्था छ । उनका अनुसार आधारभूत सरसफाईको सुविधा सबैलाई पुगेपनि सुरक्षित सरसफाईको अवस्था पुगेको नेपालीको ६१ प्रतिशत मात्र रहेका छन् ।

नेपाल सरकारले २०२३ सम्ममा सबै ७५३ वटा स्थानीय तहमा खानेपानी तथा सरसफाईको कार्ययोजना निर्माण गरिसक्ने लक्ष्यका साथ योजना तथा आर्थिक व्यवस्थापनका संयन्त्र निर्माण गरिरहेको उनले बताए । फलस्वरुप दीगो विकासको लक्ष्य प्राप्ति गर्न सहज हुने पनि उनले दावी गरे ।

उनको भनाईमा नेपालमा पानीको स्रोत त प्रशस्तै छन् तर पनि २०३० भित्र दीगो विकासको लक्ष्य हासिल गर्नमा निकै चुनौतीहरु रहेका छन् । उच्च पहाडी क्षेत्रमा सुख्खा याममा पानीका मुहान सुक्नु, हिमाली क्षेत्रको हिउँ बिस्तारै पग्लदै जानु र तराई क्षेत्रमा भूमिगत पानीका सतह घट्दै जानु जस्ता चुनौतीलाई नेपालले भोगिरहेको उनको भनाई थियो ।

सम्मेलनमा मन्त्री खानले भने, कार्वन उत्सर्जनमा नेपालको भूमिका एकदमै न्युन रहेपनि जलवायु परिवर्तन र विश्व तापक्रममा भएको वृद्धिको असर नेपालमा निकै हदसम्म परिरहेको छ । त्यसको असरले नेपालको पानीको स्रोत विशेष गरेर हिमाली क्षेत्रको अर्थतन्त्र नराम्रोरी प्रभावित हुन पुगेको छ । त्यसैले जलवायु परिवर्तनको असरले निकै जोखिममा रहेको मुलुक नेपाललाई जलवायु वित्तको आवश्यकता रहेको छ । यो कुरालाई विश्व समुदायले गम्भीर रुपमा लिनुपर्छ ।

सम्मेलनमा सहभागी उच्चस्तरीय नेपाली टोलीका सदस्य

उनले विकसित मुलुकले नेपाल जस्ता कम विकसित तर जोखिमका रहेका मुलुकलाई जलवायु वित्तमा सहयोग गर्नु पर्ने समय आइसकेको पनि जानकारी दिए । जुन सहयोग र साझेदारीताले जलवायुजन्य हानी नोक्सानी कम गर्न र अनुकुलनका कामहरु गर्न सहयोग पुग्ने उनले तर्क प्रस्तुत गरे ।

यति हुँदा हुँदै पनि नेपालले २०३० सम्ममा दीगो विकासको लक्ष्य हासिल गर्नुपर्ने नेपालको बाध्यता र अवसर दुवै रहेको उनको भनाई थियो । हाल नेपालले निर्माण गरेका नीति, रणनीति र कार्ययोजना कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय स्तरको बलियो सहयोग तथा साझेदारीता आवश्यक रहेको भन्दै मन्त्री खानले विकसित मुलुक, विकास साझेदार संस्थासँग नेपाललाई सहयोग गर्न आग्रह पनि गरे ।

उनले हिमाली क्षेत्र विश्व समुदायको पानीको स्रोत भएको कुरा नकार्न नसकिने भएकाले यसको संरक्षण केवल नेपालका लागि मात्र नभएर अरु मुलुक र भावी पुस्ताका लागि पनि भएको तर्क प्रस्तुत गरे ।

पानीका स्रोत संरक्षण कुनै एक मुलुकको दायित्व र जिम्मेवारी मात्र नभएको मन्त्री खानको तर्क थियो । उनले पानीको अभाव भावी दिनमा समग्र विश्व समुदायलाई पर्ने भएकाले उच्च हिमाली क्षेत्रको संरक्षण र सम्वद्र्धनका लागि आजैदेखि लाग्न विश्व समुदायलाई आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here