पानी सुरक्षा : नेपालद्वारा अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण

न्यूयोर्क । जलवायु परिवर्तनको असरबाट आफ्नो मुलुकमा भएका पानीको स्रोतमाथि चुनौती थपिँदै गएको भन्दै पानीको सुरक्षामा अन्तर्राष्ट्रिय साझेदारीता आवश्यक भएको विषयलाई नेपालले विश्व समुदाय समक्ष उठान गरेको छ । पानीको सुरक्षाका विषयलाई अन्तर्राष्टिय जगतले गम्भिर रुपमा लिइ दिन पनि आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघीय पानी सम्मेलन २०२३ का अवसरमा न्यूयोर्कमा नेपालले साइट इभेन्टसको आयोजना गरी विश्व समुदाय समक्ष यस्तो आग्रह गरेको हो । राष्ट्र संघले न्यूयोर्कमा तीन दिने पानी सम्मेलनको आयोजना गरेको छ ।

विश्व समुदायलाई बोलाएर नेपालले आफ्नो देशभित्रको पानी अवस्था, उपलब्धी र जलवायु परिवर्तनले पारेको असर बारे व्यापक वहस गराएको छ । सो बहसमा नेपालले पानी सुरक्षाको आफ्नो अबस्था सार्वजनिक गर्दै पानी सुरक्षा र सदुपयोगका सवालमा भए, गरेको असल अभ्यास, चुनौती समाधानका लागि अवलम्बन गरिएका नीति, कार्यनीति तथा कार्ययोजना बारे पनि प्रकाश पारेको छ ।

अन्तर्राष्ट्रिय समुदायसँग नेपालले भनेको छ, नेपालका सेता हिमाल चम्किन छाडेका छन्, हिउँ पग्लेर हिमाल त काला पहाड हुँदैछन् । त्यसैले पानी सुरक्षाका लागि अन्तर्राष्ट्रिय साझेदारीता आवश्यक भइसकेको छ ।

कार्यक्रममा खानेपानी मन्त्री अब्दुल खानले नेपालमा पानीको सदुपयोग सिँचाई, जलविद्युत्, दैनिक प्रयोजन, सरसफाई लगायतका काममा प्रयोग भइरहेको भएपनि पछिल्ला दिनमा जलवायु परिवर्तनको असरले मुलहरु सुक्दै गएकाले पानीका मूल संरक्षणमा नेपाल सरकारले काम गरिरहेको बताए ।

उनले भने, पानी सुरक्षाका लागि एकीकृत योजना नेपाल सरकारले कार्यान्वयन गरिरहेको छ । पानीका दीगो व्यवस्थापनका लागि सरकारले नयाँ विधि तथा पद्धती कार्यान्वयन गर्ने सोच समेत बनाएको छ ।

कार्यक्रममा न्यूयोर्क स्थित नेपालका लागि संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राईले पानी सुरक्षा नेपालको प्राथमिकतामा परेको भएपनि जलवायु परिवर्तनको असरले पानीका स्रोतमाथि नै चुनौतीहरु थपिँदै गएको उल्लेख गरे । उनले भने, यसमा क्षेत्रीय र विश्वव्यापी सहयोग आवश्यक छ । जलवायु परिवर्तनको असरले उच्च हिमाली क्षेत्र निकै प्रभावित भइरहेका छन् । दीगो विकासको लागि नेपालले निकै ठूलो चुनौती भोगिरहेकोले विकसित मुलुकसँगको साझेदारीता र सहयोग आवश्यक छ ।

सिँचाई मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपालले अवलम्बन गरिरहेको पानी सुरक्षाको अवस्था बारे बोलेका थिए । कार्यक्रममा सिँचाई विभागका महानिर्देशक सुशिलचन्द्र आचार्यले नेपालमा पानीको सदुपयोग गरेर आर्थिक विकाससँग जोडिएका सफल अभ्यास बारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराए भने विभागका उपमहानिर्देशक सञ्जिब बरालले नेपालले पानी सुरक्षामा देखिएका चुनौती समाधान गर्न सरकारले नीति, कार्यनीति तथा कार्ययोजना बारे प्रकाश पारे ।

नेपालमा पानी सम्बन्धी लामो समयदेखि अध्ययन अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थाको प्राविधिक सहयोग र समन्वयमा आयोजना भएको सो कार्यक्रममा विश्व बैँक बरिष्ठ अर्थशास्त्री डा. गोर्गे जोसेफले वातावरण मैत्री विकासका लागि नेपालको प्रतिवद्धता जनाउँदै आएको प्रति सम्मान व्यक्त गरे ।

उनले नेपालको ऊर्जा विकासमा भइरहेको प्रगतिले ग्रामीण अर्थतन्त्रलाई चलायमान गरेको र स्वच्छ ऊर्जाको अभियानमा नेपाललाई अग्रणी स्थान तर्फ अग्रसर हुँदै गएको बिचार व्यक्त गरे । उनले नेपालमा पानी सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग, समन्वय र साझेदारीता जरुरी भएकाले विश्व बैँकले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थाका नेपाल प्रतिनिधि डा. मनोहरा खड्काले पानी सम्बन्धी बिभिन्न खालका अध्ययन, अनुसन्धान गरेर नेपाल सरकारलाई सहयोग गरिरहेको जानकारी दिइन् । उनले भनिन्, पानी केवल पानी मात्र नभई यो अन्तरनिकायगत क्षेत्र हो । यसले ऊर्जा, कृषि, लगायतका क्षेत्रलाई प्रभावित पारिरहेको हुन्छ । त्यसैले पानी सुरक्षाका लागि ती सबै निकायगत समन्वय तथा साझेदारीतामा काम हुनु जरुरी छ । अध्ययन अनुसन्धानका दायरालाई बढाउनुपर्छ ।

नेपालले आयोजना गरेको सो कार्यक्रममा अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था श्रीलंकाका राष्ट्रिय प्रतिनिधि डा. मार्क स्मिथले पछिल्ला दिनमा पानी सुरक्षाको चुनौती विश्वभरी नै देखिएको बताउँदै त्यसमा पनि दक्षिण एसियाली मुलुक बढी प्रभावित रहेको धारणा राखे ।

उनले नेपाल हिमाली मुलुक भएकाले जलवायु परिवर्तनको असरले हिमाली क्षेत्र र पानीको स्रोतमा प्रत्यक्ष असर परिरहेकाले वैज्ञानिक अध्ययन अनुसन्धानलाई प्राथमिकतामा राखेर आएका तथ्यमा आधारित भएर काम गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here