विश्वभरीका शहादत रेञ्जरहरुको सम्झना गर्दै नेपालमा रेञ्जर बाटिका

काठमाडौँ । आफ्नो कर्तव्य निर्वाहका क्रममा बिभिन्न कारणले शहादत भएका विश्वभरका सयौँ रेञ्जरहरुको सम्झना गर्दै बर्दियामा रेञ्जर बाटिका निर्माण गरिने भएको छ ।

नेपाल रेञ्जर संघका आजीवन सदस्य बिष्णुप्रसाद थपलियाका अनुसार विश्व रेञ्जर दिवसका अवसरमा आइतवार बर्दियामा आयोजित एक कार्यक्रममा सो बाटिकाको शुभारम्भ गरिएको छ । थपलियाका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अम्रेनीमा रहेको जग्गामा १५० भन्दा बढी बिभिन्न प्रजातिका बिरुवा रोपेर सो बाटिकाको शुभारम्भ गरिएको हो ।

सन् १९९५ बाट मनाउन थालिएको विश्व रेञ्जर दिवसका अवसरमा बर्दियामा आयोजित एक कार्यक्रममा सन् २०२२ को जुन महिनादेखि २०२३ को मे महिनासम्म विश्वभरी शहादत गरेको रेञ्जरहरुको सम्झनामा श्रद्धाञ्जली समेत अर्पण गरियो । यो अवधिमा विश्वभरीमा १४८ जना रेञ्जरले शहादत प्राप्त गरेका छन् ।

थपलियाका अनुसार अधिकांश घटना चोरी शिकारीसँगको लडाईमा, वन्यजन्तुको आक्रमणमा परेर भएका छन् भने कतिपय दुर्घटना आफ्नो कर्तव्य पालना गर्ने क्रममा खोलाले बगाएर, नदी तथा तालमा डुबेर, सवारी दुर्घटना भएर पनि रेञ्जरहरुले शहादत प्राप्त गरेका छन् ।

विश्व रेञ्जर महासंघले यो वर्ष सन् २०३० मा पृथ्वीको कम्तिमा ३० प्रतिशत भूभागलाई व्यवस्थित ढंगले संरक्षण र प्रभावकारी रुपमा व्यवस्थापन गर्न विश्वभरीका रेञ्जरहरुलाई आह्वान गरेको छ । यही थिममा यो वर्षभरी विश्वभरीका रेञ्जरहरुलाई दत्तचित्त भइ लाग्ने पनि आग्रह गरेको छ ।
यही अवसरमा नेपाल वन प्राविधिक संघले पनि सम्बादको कार्यक्रमको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here