काठमाडौँ । गणतन्त्र कोरियाका राजदूत पार्क टेइयंगले नेपालले कार्वन व्यापारमा गरेको पहलप्रति स्रहाना गरेका छन् ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँगको भेटघाटमा उनले नेपालले प्रशस्त वन जंगल संरक्षण गर्न सकेको र हाल कार्वन व्यापार सम्बन्धी लिएको पहलले सार्थकता पाउने बताएका छन् । वन मन्त्रीको कार्यकक्षमा भएको भेटघाटमा दुईपक्षीय आपसी सहयोग आदान प्रदानका बारेमा पनि छलफल भएको छ ।

वन मन्त्री ठकुरीका प्रमुख स्वकीय सचिव लेकविक्रम शाहका अनुसार कोरियाले भविष्यमा नेपाललाई अझ सहयोग गर्ने इच्छा राखेको र सोही अनुसार काम गर्ने राजदूत पार्क टेइयंगले बताएका छन् ।
सन १९७४ देखि कोरिया र नेपालबीच रहिआएको सम्बन्ध अझै बलियो बनाउन कोरिया सरकार तयार रहेको राजदूत पार्कले बताए ।
सो अवसरमा मन्त्री ठकुरीले कोरियाली सरकारले प्रदान गर्ने विभिन्न शैक्षिक छात्रवृत्तिबाट नेपाली विद्यार्थी लाभान्वित भएको र प्राविधिक तथा व्यावसायिक तालिममा भइरहेको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।
कोरिया सरकारले लामो समयदेखि हजारौँ युवालाई इपिएस कार्यक्रम मार्फत रोजगारीको अवसर प्रदान गरेको प्रति पनि मन्त्री ठकुरीले धन्यबाद व्यक्त गरेको कुरा सचिवालयले जनाएको छ ।