काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वन मन्त्रालयलाई सबैभन्दा छिटो छरितो ढंगले काम हुने मन्त्रालयको रुपमा स्थापित गर्नुपर्ने बताएका छन् ।
नेपाल वन निगम लिमिटेडको अवस्था, कार्यक्षेत्र, चुनौती र भावी योजना बारे जानकारी लिने क्रममा मन्त्री ठकुरीले विगतमा वन मन्त्रालय काम गर्न झन्झटिलो मन्त्रालयको रुपमा परिचित हुँदै आएको भएपनि आफू मन्त्री भएर आएपछि त्यो कुरालाई तोड्न खोजेको बताए ।
उनले भने, मैले पनि बाहिरबाट वन मन्त्रालय निकै झन्झटिलो मन्त्रालय हो भन्ने सुनेको छु । तर अब त्यसो हुन दिनु हुँदैन । त्यसका लागि मैले काम गर्न सुरु गरिसकेको छु । वन मन्त्रालय छिटो छरितो काम हुने मन्त्रालयको रुपमा स्थापित गराउन सबैले सहयोग गर्नुपर्छ ।
मन्त्री ठकुरीले भने, वन मन्त्रालय झन्झटिलो मन्त्रालय होइन, सहज र छिटो काम हुने मन्त्रालयका रुपमा हुने गरी विकास गर्न जरुरी छ । तर विधि र प्रक्रिया त्यति सहज छैनन् भन्ने कुरा मैले बुझदै गएको छु । ती विधि र प्रक्रियालाई सहज बनाउनका लागि काम तत्काल थालनी हुनेछन् ।
उनले भने, म आएपछि मन्त्रालयमा धेरै दिन फायल थन्किने बाला छैनन् । हुने काम तत्काल हुन्छन्, नहुने कामका लागि तत्काल नहुने जानकारी दिइन्छ । अब झुलाउने, सताउने काम हुँदैन । उनले अगाडि भने, फायल महिनौँ दिनसम्म थन्काउने, फायलको अध्ययन पनि नगर्ने र जवाफ पनि नदिने प्रवृतिको मैले अन्त्य गर्छु ।
मन्त्री ठकुरीले नेपालको काठ सडेर जान थालेको तर आयातित काठले मुलुकको व्यापार घाटालाई बढाइ राखेको प्रसंग उठाउँदै नेपाल वन निगमको कामलाई अझ प्रभावकारी बनाउन मन्त्रालयले थप काम गर्ने पनि बताए ।
वन तथा वातावरण मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख बद्री ढुंगानाले निगमको कार्यक्षमता विस्तार र व्यावसायिक विकासका लागि निगमले बनाएको कार्ययोजना प्रभावकारी रुपमा कार्यान्वायन गर्न सके सर्वसाधारणले पाउने काठ सर्वसुलभ र सहज तरिकाले पाउन सक्ने वातावरण बन्ने कुरा बताए ।
म आएपछि मन्त्रालयमा धेरै दिन फायल थन्किने बाला छैनन् । हुने काम तत्काल हुन्छन्, नहुने कामका लागि तत्काल नहुने जानकारी दिइन्छ । अब झुलाउने, सताउने काम हुँदैन ।
सो अवसरमा निगमका प्रमुख कार्यकारी अधिकृत मनबहादुर खड्काले निगमको हालको अवस्था, कार्यक्षेत्र, भूमिका, चुनौती र अवसरका बारेमा जानकारी गराए । पछिल्ला दिनमा निगमले आफ्नो भौतिक सम्पत्तीको खोजविन र सुरक्षा, व्यापार विस्तार गरेको सो अवसरमा खड्काले जानकारी दिए ।
त्यसैगरी वन मन्त्री ठकुरीले नेपालको औषधीय गुण भएका वनस्पतिको सदुपयोग गरी मुलुकको आर्थिक विकासमा योगदान दिने काम गर्नुपर्ने बताएका छन् ।
वनस्पति विभागको निरीक्षण तथा जानकारी लिने क्रममा उनले नेपालको प्राकृतिक सम्पदाको सदुपयोग गर्न सके मुलुकको आर्थिक विकासमा टेवा पुग्ने बताए । सो अवसरमा विभागका महानिर्देशक डा. सञ्जिवकुमार राईले विभागले हाल सम्पादन गरिरहेका कामहरु बारे जानकारी गराएका थिए ।