पीडित समुदायको पक्षमा काम गर्न आग्रह

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वन्यजन्तुबाट पीडित समुदायको हितमा काम गर्न संरक्षण साझेदार संस्थाहरुलाई आग्रह गरेका छन् ।


नेपालमा संरक्षणको क्षेत्रमा काम गर्दै आएको जुलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) का प्रतिनिधिसँगको भेटघाट कार्यक्रममा मन्त्री ठकुरीले जैविक विविधताको संरक्षण गर्दागर्दै पीडित भएका व्यक्ति तथा समुदायको पक्षमा काम गर्न सरकार लागि रहेकोले सो काममा सघाउन आग्रह पनि गरेका हुन् ।

मन्त्री ठकुरीले भने, संरक्षणका क्षेत्रमा तपाईहरुले राम्रै काम गरिरहनु भएको छ, अब वन्यजन्तुबाट पीडित समुदायको पक्षमा समेत काम गर्न सघाउनु पर्ने अवस्था आइसकेको छ ।


मन्त्री ठकुरीले जेडएसएलका कार्यक्रमलाई थप संरक्षण क्षेत्रमा विस्तार गर्न पनि आग्रह गरे । उनले भने, जेडएसएलले अब तराई मात्र होइन, पहाड र हिमालका संरक्षित क्षेत्रमा पनि काम गर्न सक्नु पर्छ । त्यसका लागि तयारी गर्नुपर्छ ।


सो अवसरमा जेडएसएल नेपालका प्रमुख डा. भगवान दाहालले नेपाल सरकारको नीति अनुसार जेडएसएलले संरक्षणका काममा सघाउँदै आएको र आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । डा. दाहालले भने, हामी सरकारलाई सहयोग गर्न आएका हौँ । सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सघाउन राष्ट्रिय प्रकृति संरक्षण कोष र स्थानीय गैर सरकारी संस्था मार्फत काम गरिरहेका छौँ ।


डा. दाहालले वन्यजन्तुबाट पीडित व्यक्तिहरुको लागि एनटीएनसी र मध्यवर्ती क्षेत्रका समुदाय स्तरमा राहत कोषको लागि सहयोग गर्दै आएको जानकारी पनि दिए । आगामी दिनका राहत कोषलाई थप व्यवस्थित बनाउने योजना रहेको पनि डा. दाहालले बताए ।


जेडएसएलका नीति संयोजक विष्णुप्रसाद थपलियाले वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका विद्यमान नीति तथा कार्यक्रम सुधारका लागि जेडएसएलले गरेको सहकार्य, सहयोग तथा प्रयासका बारेमा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here