जुम्ला । जिल्लाको सदरमुकाम खलङ्गामा आपूर्ति हुँदै आएको बिजुली उत्पादन गर्ने मेसिन ३५ वर्ष पछि फेरिएको छ ।
भारतीय राजदुतावासको सहयोगमा २ करोड ६३ लाख ७७ हजार रुपियाँ र साना जलविद्युत् उपभोक्ता समिति जुम्लाको ४२ लाख २२ हजार रुपियाँ आर्थिक सहयोग तथा जिल्ला समन्वय समिति जुम्लाको प्राविधिक सहयोगमा नयाँ मेसिन फेरिएको छ । २२० किलोवाटको जलविद्युत्को सुरुको अवस्थामा जडान भएको मेसिनले जेनतेन ३५ वर्ष जुम्लाबासीलाई सेवा दिएको थियो । सो ठाउँमा नयाँ मेसिन हाल जडान गरिएको छ ।
बि.सं २०४० साल माघ २० गते तत्कालिन जुम्लाका यातायात जलस्रोत मन्त्री हरिचन्द्र महतको पहलमा विकासबादी राजा विरेन्द्रले साना जलविद्युत् आयोजनको उद्घाटन गर्नुभएको थियो ।
तत्कालिन जिल्ला विकास समिति तथा हालको जिल्ला समन्वय समिति तथा गाउँपालिकालाई स्थानीय बासिन्दाले नयाँ मेसिनको लागि आग्रह गर्दा पनि नयाँ मेसिन राख्ने पहल नभएपछि भारतीय राजदूतावसले नयाँ मेसिन फेरि दिएको हो ।
पुरानो मेसिनको उत्पादन दिनप्रतिदिन घट्दै जाने अर्काेतर्फ ग्राहकको संख्या दिनप्रतिदिन वृद्धि हुँदै जाने भएको अवस्थामा भारतीय दूतावासले २२० केभीको मेसिन सहयोग गरेपछि सोमवार रातीबाट जुम्लाको सदरमुकाम खलङ्गा झिलीमलि भएको छ ।
चार महिना लामो समयसम्म बिजुली नभएपछि अध्यारो भएको जुम्ला सदरमुकाम अब झिलीमिली हुने भएको छ । साना जलविद्युत्को पावर हाउस घुगुत्तिमा रहेको पावरहाउसमा अर्को ११० केभी क्षमताको मेसिन जडान कार्य समेत शुरु गरिने भएको छ । करिब दुई महिनामा अर्को मेसिन समेत जडान भएमा २६० किलोवाट बिजुली उत्पादन हुने र चन्दननाथ नगरपालिकाको सबै स्थानमा जलविद्युत्को पहुँच पुग्ने साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष बिष्णुबहादुर बुढ्थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, आखिर भारतीय दूताावासले सहयोग नगरेको भए हामी अझै कति दिन अध्यारोमै बस्नु पर्ने हुन्थ्यो । हाम्रो आग्रहलाई दूतावासले सकारात्मक रुपमा लिएर सहयोग गरेको छ ।
किन सहयोग गर्यो त ? उहाँले भन्नुभयो, असल छिमेकीको नाता भारतले जुम्लामा उज्यालो दिनका लागि प्रस्तुत गरेको छ ।
अर्काे मेसिन जडानका लागि भने भारतको लुभियानाबाटै प्राविधिकहरु आएर काम गरिरहेका छन् । हाल भारतको देहरादुन घर भएका ईन्जिनियर सारस्वत हिन्दुवानले यो मेसिन जडानमा काम गरिरहेका छन् । मेसिन भारतको लुधियानाबाट ल्याईएको हो । मेसिन जडानका लागि हिन्दुवान सहित अन्य ७ जनाको प्राविधिकको टोली जुम्लामा काम गरिरहेको छ ।