काठमाडौँ । यही बुधबार चितवन राष्ट्रिय निकुञ्जको लामीताल इलाकामा नेपाली सेनाको गोलीबाट मरेको जंगली हात्ती (मकुना) का विषयमा स्थलगत अध्ययन गर्न सरकारले एक अध्ययन कार्यदल बनाएको छ ।
वन तथा वातावरण मन्त्रालयका सहसचिव डा.बुद्धिसागर पौडेलको संयोजकत्वमा गठित कार्यदलमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव पुरुषोत्तम शर्मा, नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमु सेनानी गजेन्द्र रावल सदस्य रहेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार सो कार्यदलमा वन तथा भूसंरक्षण विभागका वन अधिकृत शवनम पाठक, चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. दिनेश शाह सदस्य रहेका छन् ।
सो कार्यदललाई जंगल हात्ती मकुनाको मृत्यु सम्बन्धमा स्थलगत अध्ययन, अवलोकन, निरीक्षण र अनुगमन गरी भेटिएका सत्य, तथ्य केलाई सात दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । बिहीबार वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको उपस्थितिमा वन तथा वातावरण मन्त्रालयका सहसचिवहरु सम्मिलित (एसएमटी) बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।
सो कार्यदललाई घटनास्थलसँग आवद्ध र सबै सरोकारवाला निकाय, व्यक्ति, संस्था सो घटनाबारे छलफल गर्न, घटनाको विस्तृत विवरण तथा घटना हुनुको कारण पत्ता लगाउन र आगामी दिनमा यस्ता घटना हुन नदिनका लागि सुरक्षा सम्बन्धी सावधानी लगायतका विषयलाई प्रतिवेदनमा समावेश गरि सुझाव पेश गर्न निर्देशन दिइएको छ ।
जंगली हात्ती मकुनालाई जंगलमा फर्काउने क्रममा बुधबार चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको संयुक्त गस्ती टोलीमाथि मकुनाले आक्रमण गर्दा ज्यानको सुरक्षाका लागि नेपाली सेनाले गोली चलाउन बाध्य हुनु परेको निकुञ्ज कार्यालयले जनाएको छ ।
हात्ती मृत्यु घटनाका संरक्षणकर्मीले चाँसो व्यक्त गरेका छन् भने चालु रहेको संसदमा समेत सांसदहरुले हात्ती मृत्यु प्रकरणका बारेमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।