दुई वटा गैँडाको खोजी जारी

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रबाट डार्ट गरी पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न थालिएका थप दुई वटा गैँडाको खोजी कार्य गर्न प्राविधिक टोली फिल्डमा खटिएको छ ।


निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार पश्चिमी क्षेत्रबाट पूर्वी क्षेत्रमा गैँडा स्थानान्तरण गर्ने कामका लागि डार्ट प्राविधिक टोलीलाई फिल्डमा खटाइएको छ ।


उनका अनुसार नारायणी नदीको किनार मध्यवर्ती क्षेत्र, कुमरावती र महाराजा सामुदायिक वन क्षेत्रमा देखिने गरेका गैँडालाई डार्ट गर्ने योजना अनुरुप प्राविधिक टोली तैनाथ भएको हो ।


पश्चिमी क्षेत्रमा निकुञ्ज बाहिर डिभिजनल वन कार्यालयको कार्यक्षेत्रमा पनि गैडा बिचरण गर्ने गरेको, वस्तीमा समेत पस्दा मानव वन्यजन्तु द्वन्द्वका घटना हुन सक्ने र चोरी शिकारीको पनि डर भएकाले त्यो क्षेत्रका गैँडा डार्ट गरेर पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न थालिएको हो ।


डा. पन्तले भने, हाल तीन वटा लोकेसनमा प्राविधिक टोलीलाई खटाइएको छ । ती क्षेत्रबाट दुईवटा वयस्क गैडा छनौट गरेर डार्ट गर्ने योजना छ । बुढो गैँडालाई स्थानान्तरण गरेर पनि भएन, भविष्यमा ब्रिडिङको लागि पनि योग्य हुने गैँडा खोजेर लिने काममा हामी लागिरहेका छौँ ।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार दुई वटा गैँडा निकुञ्जको पश्चिमी भेग अमलटारी क्षेत्रबाट शनिवार र आइतबार गरी निकुञ्जको खगेन्द्रमल्ली पोष्ट नजिकैको क्षेत्रमा छाडिएका छन् । ती दुवै पोथी गैँडा १३ देखि १६ वर्ष उमेरका रहेका छन् ।


खगेन्द्रमल्ली पोष्ट नजिकको क्षेत्र गैँडाको लागि पुरानै बासस्थान हो । डा. पन्तले भने, यो क्षेत्रमा गैँडाको घनत्व कम छ । गैडा स्थानान्तरण गर्ने योजना भएपछि यो क्षेत्रमा गैँडाको बासस्थानमा थप सुधार गर्ने कामहरु पनि भइरहेका छन् ।


शनिबार र आइतबार छाडिएका दुइटै गैँडामा रेडियो कलर गरिएको डा.पन्तले बताए । उनका अनुसार अरु थप दुइटा पनि रेडियो कलर गरिनेछ । रेडियो कलर गर्दा स्थानान्तरण भएपछि गैँडाको बानी व्यवहार अनुगमन गर्न सहज हुने विश्वास निकुञ्जले गरेको छ ।
(तस्विर सौजन्य : चितवन राष्ट्रिय निकुञ्ज)

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here