महेन्द्रनगर । भनिन्छ, किसानलाई खेती नलगाउन्जेलसम्म निन्द्रा लाग्दैन तर खेती लगाइसकेपछि किसानलाई निकै मिठो निन्द्रा लाग्छ । यथार्थता त यही हो तर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका किसानलाई मिठो निन्द्रा न खेती लगाउँदा खेरी आउन्छ न खेती लगाइसकेपछि नै आउने गरेको छ । वन्यजन्तुले खेतीपाती खान थालेपछि निकुञ्ज मध्यवर्ती क्षेत्रका किसान रातभर खेतमै जाग्राम बस्न बाध्य हुन थालेका छन् ।
पुस–माघ महिनाको कठ्याङ्ग्रिदो जाडोमा खेतीबाली जोगाउन यहाँका किसान रातभर खेत बस्न बाध्य हुँदा निकुञ्ज प्रशासनले किसानको पीडा नसुनेको भन्दै पीडा पोख्न थालेका छन् निकुञ्जभन्दा टाढाका बासिन्दा सुत्ने तरखर गर्ने बेला मध्यवर्ती क्षेत्रका बासिन्दा तातो लुगाफाटो लगाएर खेततिर जाने गरेको छन् ।
भीमदत्त नगरपालिका–१६ मझगाउँका स्थानीय बासिन्दा किसन साउँदले रातभरीको पीडा भोग्दै आएको बताउँदै भन्नुभयो, सबै सुत्छन् म र मेरा छिमेकी भने हातमा टर्च र काँध एक सारो कम्बल बोकेर खेतबारी तिर लाग्ने गरेका छौँ ।
मुटु काप्ने चिसोमा खेतबारीको लागि रातभर वन्यजन्तु धपाउन तुसारो खानुपर्ने बाध्यताबाट कहिले मुक्ति पाइएला ? अर्का स्थानीय बिरमन बुढाले भन्नुभयो । ‘गहुँ उम्रेदेखि जङ्गली जनावर खेतमा आउन थाल्छन ।’ बुढाले भन्नुभयो, ‘राती पहरा नदिने हो भने त वर्षभरी के खाएर बाँच्नु ?
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका अधिकाङ्श स्थानमा किसानको रात खेतमैं बित्ने गरेको छ । दिनभरी थाकेको शरिर, राती चाँडै खाना खाने र खेततिर जानुपर्नेे यहाँका बासिन्दाको बाध्यतालाई किन निकुञ्ज प्रशासनले अहिले सम्म नदेखेको होला ? हामी त धेरै पटक निकुञ्ज प्रशासनसँग समस्या समाधानका लागि गयौँ तर हाम्रो कुराको सुनुवाई नै भएन, अर्का स्थानीय बासिन्दा सीताराम पाण्डेले भन्नुभयो ।
मंसिर महिनामा छरेको हिउँदे बाली हुर्कनै लाग्दा निकुञ्जभिञका वन्यजन्तुले नोक्सानी गर्न थालेपछि यहाँका किसान खेतमा झुप्रो (पहरो) बनाएर रातभर जाग्रम बस्ने गरेका छन् । ‘दिउँसो बाँदरले सताउँछन, राती बँदेल र चित्तलले स्थानीय साउँदले भन्नुभयो ।
कतिपयले खेत किनारामा आगो बालेर टिन (जस्ता) ठ्टाउँदै रात बिताउने गरेका छन् । ‘बाली उम्रिदा चितलको डर, त्यसपछि पलाउँदा बँदेलले सखाप पार्छ ।’ साउँदले भन्नुभयो । अब यो ठाउँ छाडेर जाने हो भने कताँ जाने ?
निकुन्ज क्षेत्रको प्रवेशद्वार पश्चिम–दक्षिणदेखि वडा नम्बर १४, १३ सँगै पुर्व पट्टिका वडा नम्बर १५, १९ सँगै बेलडाँडी, बेलौरी र पुर्नवास क्षेत्रमा बढी जसो वन्यजन्तुले खेती नोक्सान गर्ने गरेका छन् । सरकारले खेतीबाली नष्ट गरे क्षति दिने व्यवस्था गरेको भएपछि झन्झटिलो प्रक्रिया भएको र क्षति पाउँदा पाउने रकमभन्दा बढी पैसा खर्च भइसक्ने भएकाले क्षति माग्न पनि नजाने गरेको कुरा स्थानीय लबदेव भट्टले बताउनुभयो । उहााले अघिल्लो वर्षमा वन्यजन्तुबाट भएको नोक्सानीको क्षति नपाएको गुनाशो पोख्नुभयो ।