विश्व सिमसार दिवस पोखरामा


काठमाडौँ । यस पटकको विश्व सिमसार दिवस नेपालमा पोखरामा मनाइने भएको छ । हरेक वर्ष काठमाडौँमा मनाउँदै आएको यो दिवस यसपटक भने उपत्यका बाहिर तालैतालको शहर पोखरामा मनाउन थालिएको हो ।
यो वर्षको विश्व सिमसार दिवसका नारा सिमसार तथा जलवायु परिवर्तन रहेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर सिमसार क्षेत्रमा बढी परिरहेको बेला यो नाराको सान्दर्भिकतब अझ बढी भएको वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले बताउनुभएको छ ।
संघीय संरचनामा मुलुक गइसकेपछि पहिलो पटक स्थानीय, प्रदेश तथा संघीय सरकारको संयुक्त आयोजना पोखरामा विश्व सिमसार दिवस मनाउन थालिएको हो ।
संघीय सरकार वन तथा वातारण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालका अनुसार जलवायु परिवर्तन र सिमसार क्षेत्रलाई जोडेर यस वर्षको सिमसार दिवसको नारा तय गरिएको छ । सोही नारा अनुसार सिमसार दिवस मनाउनका लागि सान्दर्भिक र उपर्युक्त स्थान पोखरा नै भएकोले सिमसार दिवस मनाउने निर्णय भएको हो ।
पोखराका नौ वटा ताल सहितलाई मिलाएर रामसार सूचीमा सूचीकृत गरिएका छन् । विशेष गरेर फेवाताल सबैभन्दा बढी मानवीय अतिक्रमणमा परिरहेका बेला फेवाताल बैदाम क्षेत्रमा सरसफाई गरेर पोखरामा सिमसार दिवस मनाउन थालिएको हो । कार्यक्रमलाई वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत तथा सचिव डा.विश्वनाथ ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
डा. ढकालका अनुसार तालको सरसफाई पनि सरोकारवालाहरुकाबीच सिमसार क्षेत्रमा पारेका असर बारे वृहत अन्तक्र्रिया पनि आयोजना गरिने तयारी भइरहेको छ । सो कार्यक्रममा डा. ढकालले सिमसार र जलवायु परिवर्तनको अन्तरसम्बन्धका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी पोखराका नौ वटै तालहरुको एकीकृत व्यवस्थापन योजना सम्बन्धी पनि छलफल हुने भएको छ । सो विषयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
डा. ढकालले भन्नुभयो, यो पटकको सिमसार दिवस पोखरामा तीनै तहका सरकारको सहभागितामा सम्पन्न हुुने भएकाले यसले सिमसारको संरक्षण गर्नु सबैको साझा दायित्व हो भन्ने कुराको सन्देश दिन खोजेको छ । आगामी दिनमा पनि सबै तहका सरकार तथा सरोकारवालाको साझा सहभागितामा सिमसारको संरक्षण गर्नका लागि हातेमालो गर्न तयार छौँ भन्ने कुराले निर्देशित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here