हिउँ चितुवा संरक्षण गर्न चौरीको बीमा

ताप्जेजुङ । हिउँ चितुवा र ब्वाँसोको संरक्षण गर्न स्थानीय बासिन्दालाई जीविकोपार्जन र सचेतनाका कार्यक्रम सञ्चालन गरिएका छन् ।

हिउँचितुवाले स्थानीय बासिन्दाका याक चौरी गाईमा हरेक वर्ष नोक्सानी पार्न थालेपछि ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रका किसानलाई चौँरी याकको बीमा गरिएको छ ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहजीकरणमा चौँरी याकको बीमा कार्यक्रम सुरु गरिएपछि किसानले बीमा दाबी क्षतिपूर्ति पाउने भएका हुन् ।

ताप्लेजुङको दुर्गम र उच्च हिमाली बस्ती याङ्मा क्षेत्र पशुपालनको मुख्य क्षेत्र हो । विगतदेखि नै हिउँ चितुवा, ब्वाँसोका कारणले किसानले ठूलो नोक्सानी व्यहोर्दै आएका छन् ।

सो क्षतिबाट बच्नका लागि पशुबीमा कार्यक्रम सुरु गरिएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पशु बीमा गर्ने नेको इन्स्योरेन्स फिदिम शाखाका प्रमुख जयराम बाँस्कोटाका अनुसार पहिलो चरणमा गएको हप्ता ओलाङ्चुङ्गोलामा ३८३ वटा चौँरीको बीमा गरिएको छ ।

ओलाङ्चुङ्गोला बस्ती वरिपरि र माथिल्लो गोठ क्षेत्रमा रहेको याक र चौँरीहरूको बीमा गरिएको उनले बताए ।

ताप्लेजुङ सदरमुकामबाट एक दिनको गाडी यात्रा र दुई दिनको पैदल दुरीमा रहेको ओलाङचुङ्गोलामा याक, चौँरी ४५० वटाको बीमा गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा काम गरिरहेको समृद्ध पहाड परियोजनाका कार्यक्रम सहायक चितेन चेम्जोङले बताए ।

ओलाङचुङ्गोलाकै याङ्मा, फक्ताङलुङ गाउँपालिकाको घुन्सा र सिरीजङ्घा गाउँपालिकाको याम्फुदिन क्षेत्रमा पशुहरूको बीमा गर्नका लागि नेको बीमा कम्पनीले सुरुवात गरेको हो ।

Photo Credit : Panthera-uncia

अहिले ओलाङचुङ्गोलामा करिब ४५० वटा, याङ्मा क्षेत्रमा पाँच सय, घुन्सा क्षेत्रमा चार सय र याम्फुदिन क्षेत्रमा करिब दुई सय गरी कञ्चनजङ्घा संरक्षण क्षेत्रमा करिब एक हजार नौ सय पशुपालन रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्अन्तर्गत सञ्चालनमा रहेको समृद्ध कञ्चनजङ्घाका कार्यक्रम संयोजक चित्राकुमारी चंसुले बताइन् ।

उनका अनुसार पशुबीमा कार्यक्रमका लागि सो परियोजनामार्फत प्रति पशु २०० रुपैयाँका दरले प्राविधिक खर्च उपलब्ध गराएको छ ।
विगतमा सो क्षेत्रमा पशुबीमाका लागि बीमा कम्पनीहरू जान मानेको थिएन ।

नेको इन्स्योरेन्सका अनुसार ओलाङचुङ्गोला, याङ्मा, घुन्सा र याम्फुदिन क्षेत्रमा पनि थप बीमा गरिनेछ । ओलाङचुङ्गोला र याङ्मा क्षेत्रमा रहेको सबै गोठका वस्तुको बीमा हुने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र फेम्बूले बताए ।
फेम्बूका अनुसार हाल पशुबीमा गर्दा जम्मा लाग्ने बीमा शुल्कको ८० प्रतिशत नेपाल सरकारले र बाँकी २० प्रतिशत मात्रै कृषकले तिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here