बिजुली बल्दा हर्षको आशु

दमौली । बन्दीपुर गाउँपालिका–६ को ग्याजाटारमा पहिलो पटक बिजुली बलेको छ । हालसम्म अन्धकारमा बस्दै आएका यहाँका स्थानीयवासी बिजुली बलेपछि हर्षित भएका छन् ।

मिटरजडित बिजुली बाल्ने वर्षौंदेखिको चाहाना पूरा भएकोमा आइतबार गाउँमा पुग्नुभएका सांसद, विद्युत् प्राधिकरणका प्रमुखसहित कार्यालय प्रमुखलाई स्थानीयवासीले खाँदा र माला लगाएर स्वागत गरेका छन् । कतिपय वृद्धवृद्धा स्थानीय बासिन्दाले उज्यालोमा मर्न पाउने भए भन्दै हर्षको आशु छाडेका छन् ।

ग्याजाटार आमा समूहका अध्यक्ष आइतमाया गुरुङले पहिलो पटक बत्ती बाल्न पाउँदा खुशीको सीमा नै नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गतवर्ष सांसदले पिपलको बोटमुनि बसेर एक वर्षभित्र बत्ती बाल्ने प्रतिबद्धता जनाउनुभएको थियो । अहिले आएर उक्त प्रतिबद्धता पूरा भएको छ ।” वारीपारी विद्युतीकरण योजनाका प्रमुख हर्कबहादुर गुरुङले वर्षौदेखिको बिजुली बाल्ने सपना अहिले आएर पूरा भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

बिजुली बाल्नको लागि गाउँलेले पोल ढुवानी, पोल गाड्ने र झाडी बुट्यान फाँड्न जनश्रमदान समेत गरेका थिए । स्थानीयवासी दिलीप गुरुङले सोलारको भरमा बसेका गाउँलेले अहिले बिजुली बलेपछि टेलिभिजन खरीद गर्न थालेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सोलारले बत्ती बाल्न मात्र काम लाग्थ्यो । अहिले बिजुली पुगेपछि केहीले टिभी खरीद गरिसकेका छन् भने केहीले खरीद गर्ने तयारी गरेका छन् ।” ९६ घरधुरी रहेको ग्याजाटारमा नेपाल विद्युत् प्राधिकरणको आबुँखैरेनी फिडरमार्फत धरमपानीको हिलेखर्कबाट बिजुली ल्याइएको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख शिव गोशेलीले जानकारी दिनुभयो ।

ग्याजाटार र बाग्थलका ९६ घरधुरीमध्ये करीब ८५ घरले मिटर जडान गरिसकेका छन् । बाँकी केही घरधुरीमा जग्गाधनी पूर्जामा भएको नामको कारणले मिटर जडानमा समस्या रहेकोले सहजीकरण गरिदिन स्थानीयवासीले विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख गोशलीलाई आग्रह गरेका छन् ।

गोशलीले प्रक्रिया पुगेका सबै घरधुरीमा मिटरजडान गरिदिने बताउँदै विद्युत् पुग्नबाँकी जिल्लाका १५ प्रतिशत घरधुरीमा दुई वर्षभित्र बिजुली पु¥याइने बताउनुभयो । विद्युतीकरणको शुभारम्भ गर्दै सांसद कृष्णकुमार श्रेष्ठले दुई वर्षभित्र सबैधुरीमा बिजुली पु¥याउने आफ्नो उद्देश्य रहेको भन्दै अन्य गाउँपालिकामा पनि बिजुली पु¥याउने गरी काम भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here