फिदिम । घर र पसलमा झलमल्ल बिजुली बलेपछि पाँचथरको तुम्बेवा गाउँपालिका–३ का खेमबहादुर खत्री खुशीले गदगद् हुनुहुन्छ । तुम्बेवा–३ मौवा बजारमा पसल गर्ने खत्रीमा बिजुलीको उज्यालोसँगै आफ्नो क्षेत्रका समस्या समाधान हुने विश्वास पलाउन थालेको छ । “खानेपानीका लागि यो विद्युत् अनिवार्य थियो । अब पानी पनि आउने भयो”, खत्रीले भन्नुभयो, “बसाइँ सर्ने र विदेश जानेको क्रम पनि घट्ला ।”
पाँचथरको दुर्गम मानिएको तुम्बेवा गाउँपालिकामा शनिबारबाट बिजुली बलेपछि स्थानीयवासीमा खुशीको सीमा छैन । तुम्बेवा–४ का रोशन लावतीले भन्नुभयो, “यत्ति चाँडै बिजुली आउँछ भन्ने मैले सोचेको पनि थिइँन । साँच्चै प्रयत्न गर्दा विकासले फड्को मार्नेरहेछ भन्ने मलाई अनुभूति भएको छ ।” गत वर्ष मात्रै निर्माण थालिएको विद्युतीकरणको कार्य पूरा भई तुम्बेवाको मौवा बजार र जोरसल्ले बजारमा बिजुली बलेपछि स्थानीयवासीमा खुसी छाएको हो ।
दुर्गम यस स्थानमा शनिबारबाट सञ्चालनमा आएको विद्युत्को प्रदेश नं १ आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले उद्घाटन गर्नुभएको हो । शनिबार तुम्बेवा–३ स्थित इन्द्रायणी माध्यमिक विद्यालय परिसरमा आयोजित समारोहमा आङ्बोले स्वीच खोलेर बत्ती उद्घाटन गर्नुभयो । कार्यक्रमको स्टेजअघि चार बल्बमा बत्ती बलेपछि उपस्थित सयौँ स्थानीयवासीले तालीद्वारा स्वागत गर्दै खुशीयाली मनाए ।
यहाँका सबै वडामा विद्युत् विस्तारका लागि नेपाल विद्युत् प्राधिकरण इलाम तथा जोरसल्ले ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडले छुट्टाछुट्टै बोलपत्र आह्वान गरी कार्य अघि बढाइसकेका छन् । वडा नं १, २ र ३ मा सहकारी संस्थाको माध्यमबाट तथा वडा नं ४ र ५ मा प्राधिकरणमार्फत विद्युत् विस्तारको कार्य अघि बढेको तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरण फिदिम वितरण केन्द्र पाँचथरका प्राविधिक प्रमुख सनोज यादवका अनुसार काबेली कोरिडोरको फिदिम–४ स्थित सवस्टेशनबाट यासोक हुँदै तुम्बेवामा ११ केभी विद्युत् विस्तार गरिएको हो । तुम्बेवाको मौवा बजार र जोरसल्ले बजारसहित तुम्बेवाका वडा नं ४ र ५ मा विद्युत् विस्तारको कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । पाथीभरा कन्स्ट्रक्सन प्रालिले विद्युतीकरणको ठेक्का लिएर कार्य गरिरहेको छ ।
तुम्बेवाका सामाजिक अगुवा देवेन्द्र खत्रीले विद्युत् विकासको पूर्वाधार र स्थानीयवासीको अनिवार्य आवश्यकता विषय भए पनि सुगम ठाउँमै विद्युत् विस्तार हुन नसकिरहेको अवस्थामा तुम्बेवामा बिजुली बल्नु ‘ठूलो परिवर्तन’ भएको संज्ञा दिनुभयो । खत्रीले गाउँपालिकाका सबै वडामा चाँडोभन्दा चाँडो विद्युत् विस्तार गर्न र खानेपानी आयोजना पूरा गर्न आफूहरु सक्रिय रहेको बताउनुभयो ।