वन्यजन्तु पीडितलाई राहत दिइयो

दार्चुला । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुला अन्तरगत जिल्लाका महाकाली नगरपालिका, व्यास गाउँपालिका र मार्मा गाउँपालिकाका २१ जना वन्यजन्तु पीडितलाई राहत वितरण गरिएको छ ।

वन्यजन्तुले पशुधनमा क्षति गरेको भन्दै २०७५ मंसिर १४ गतेसम्म राहत माग गर्ने निवेदकलाई वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ तेस्रो संशोधन अनुसार राहत वितरण गरिएको हो ।

राहत सिफारिस समितिको बैठकले गरेको निर्णय अनुसार २१ जना पीडितलाई कुल ६ लाख ६७ हजार रुपैँया राहत रकम वितरण गरिएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिनुभयो ।

संरक्षण क्षेत्र अन्तरगत चितुवाको आक्रमणबाट पशुधनको क्षति व्यहोरेका व्यास गाउँपालिकाका ६ जना कृषकलाई सुनसेरामा राहत वितरण गरिएको छ ।

मार्मा गाउँपालिकाको लटिनाथमा मार्माका ९ जना कृषकलाइ २ लाख ५० हजार राहत वितरण गरिएको छ । भने महाकाली नगरपालिकाको वडा नम्बर १ छापरी र ३ काट्टैका ६ जना स्थानीयलाई केहि दिनभित्रै राहत वितरण गर्ने तयारी रहेको प्रमुख संरक्षण अधिकृत मेहताले बताउँनुभयो ।

आन्तरिक आम्दानीबाट अपिनाम्पा संरक्षण परिषदले खाद्यान्न बालीमा क्षति भएका ६ जना कृषकलाइ १ हजार पाँच सयका दरले ९ हजार रुपैँया राहात समेत वितरण गरेको छ ।

चालु आर्थिक बर्षमा वन्यजन्तुको क्षति वाफत जिल्लाभरी राहत वितरणका लागि १० लाख रुपैँया प्राप्त भएकोमा २ लाख ७१ हजार डिभिजन बन कार्यालय दार्चुलाको कार्यक्षेत्रमा वितरण गरिएको छ ।

डिभिजन वन कार्यालय दार्चुलाले बदेलको आक्रमणबाट घाइते भएका शैल्यशिखर नगरपालिकाका २ जना पीडितलाई राहत वितरण गरेको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का करन धामी र शैल्यशिखर ८ बोहरीगाउँमा हरिशंकर जोशीलाई वन कार्यालयबाट राहत उपलब्ध गराएको हो ।

हरिशंकर जोशीलाई १ लाख ९९ हजार ८६७ रुपैयाँ र करन धामीलाई ७१ हजार ६०८ रुपैयाँ राहत प्रदान गरिएको डिभिजन प्रमुख हरिप्रसाद पाण्डेले बताउनुभयो ।

जोशीलाई बदँेलले २०७३ कात्र्तिक २० गते र धामीर्लाइ २०७४ माघ १० गते आक्रमण गरेर घाइते बनाएको थियो । यसअघि २०७४ साउँन १ गते लेकम गाउँपालिका वडा नम्बर ३ मा धनादेवि जोशीको बदेलको आक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here