एक हप्तादेखि हात्तीको खोजी

ठाकुरद्धारा । चार जना व्यक्तिको ज्यान लिइसकेको हात्तीको खोजी कार्य बर्दियामा अझै जारी रहेको छ ।

एक हप्ता अघिदेखि सुरु गरिएको हात्तीको खोजी कार्यमा संलग्न बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली निकुञ्जको गेरुवा क्षेत्रको जंगलमा लगातार रुपमा लागि रहेको छ तर पनि हात्तीलाई नियन्त्रण लिने सफलता मिल्न सकिरहेको छैन ।

समस्याग्रस्त हात्तीको खोजीका लागि चार वटा हात्तीको गस्ती भइरहेको छ भने जीपको गस्ती पनि सुचारु रुपमा भइरहेको छ ।

प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठ,
बर्दिया राष्ट्रिय निकुञ्ज

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठका अनुसार स्थानीय बासिन्दाको सहयोगमा त्यो क्षेत्रमा घुमिरहेको समस्याग्रस्त हात्तीको पहिचान भइसकेको भएपनि सो हात्तीसँर्ग तीन वटा अरु हात्ती पनि रहेकोले समस्याग्रस्त हात्तीलाई नियन्त्रण लिन कठिन भइरहेको छ । गेरुवा क्षेत्रमा घुमिरहने जंगली हात्तीले यही जेठ १० गतेको राती घरको बाहिर सुतिरहेका बेला बर्दियाको गेरुवा गाउँपालिका वडा नम्वर ११ स्थित खचकहर गाउँका आमा चन्द्रा बिक र छोरी दिपीकालाई आक्रमण गर्दा मृत्यु भएको थियो ।

जंगली हात्तीले गेरुवा गाउँपालिकाकै भटेरा बस्तीको भुन्टी बोहरालाई गत चैतमा आक्रमण गरेर मृत्यु भएको थियो भने यहाँकै हात्ती गएर कैलालीको टिकापुरक्षेत्रमा एक जनाको आक्रमणबाट मृत्यु भएको थियो । गेरुवा क्षेत्रका हात्ती बिचरण गर्दै कर्णालीपारी कैलालीको टीकापुर क्षेत्रमा पुग्ने गरेका छन् ।

प्रमुख संरक्षण अधिकृत श्रेष्ठले नेपालकथासँग भने, लगातार रुपमा हात्तीको आक्रमणबाट सर्वसाधारणको मृत्यु हुन थालेपछि संमस्याग्रस्त हात्तीको पहिचान गरी त्यसको व्यवस्थापन गर्न निकुञ्जले प्रयास गरिरहेको छ । समस्याग्रस्त हात्तीसँग अन्य तीन वटा हात्ती भएकाले सो हात्तीलाई नियन्त्रणमा लिने प्रयासले सफलता लिन सकिरहेको छैन ।

कैलाली र बर्दियामा गरी चार जनाको ज्यान लिइसकेको सो हात्तीलाई नियन्त्रणमा लिइ सो स्थानबाट निकुञ्जको कोर एरियाभित्र छाड्ने योजना निकुञ्ज प्रशासनले बनाएको छ ।

थप व्यवस्थापनको काम हुँदै
गेरुवा क्षेत्रको मध्यवर्ति सामुदायिक वनमा विचरण गरि रहने हात्तीको आवतजावतलाई नियन्त्रण गर्न पुरानो विद्युतीय तारबारको मर्मत सम्भार गरिन थालिएको छ । प्रमुख संरक्षण अधिकृत श्रेष्ठका अनुसार विद्युतीय तार टुटेको ठाउँमा मर्मत सम्भार गर्ने र पोलहरु नयाँ राख्ने लगायतका कामहरु गरेर करिब चार किलोमिटरको विद्युतीय तारबारलाई सुचारु गरिने भएको छ ।

बस्ती छेउको सामुदायिक वनभित्र बाक्लो झाडी भएकाले हात्ती आए, गएको थाहा नहुँदा स्थानीय बासिन्दालाई झन समस्या पर्ने गरेको कुरालाई दृष्टिगत गरी जंगलभित्रको झाडी सरसफाई गर्ने कार्य पनि गरिएको छ । सो कामका लागि स्थानीय निकाय र निकुञ्जको संयुक्त पहलमा दुई वटा जेसिबी मेसिन पनि परिचालन गरिएका छन् ।

सो क्षेत्रमा हात्तीको झुण्ड घुमिरहेकाले स्थानीय बासिन्दा सन्त्रास कायम छ । त्यसैले सो क्षेत्रमा निकुञ्जको हेड क्वाटरका प्राविधिक कर्मचारी, बनजरीया रेञ्जर पोष्ट र ओखरीया पोष्टका कर्मचारी, नेपाली सेना लगायतका ६० जनाको जनशक्तिलाई परिचालन गरि गस्ती तथा विद्युतीय तारबारको मर्मत तथा सम्भारको काम भइरहेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए ।

राहत तथा रोजगारी
पछिल्लो पटक यही जेठ १० गते हात्तीको आक्रमणबाट आमाको घटनास्थलमै र छोरीको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएपछि निकुञ्ज प्रशासनले तत्काल काजकिरिया खर्च वापत ५० हजार रुपियाँ उपलब्ध गराएको थियो भने थप ५० हजार रुपियाँ उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको निकुञ्जले जनाएको छ ।

प्रमुख संरक्षण अधिकृत श्रेष्ठका अनुसार घटनामा मृत्यु भएका दुबै जनालाई प्रति व्यक्ति १० लाख रुपियाँका दरले राहत दिने प्रक्रियाको सुरु गरिएको छ । गरिव विपन्न विक परिवारमा भएको घटनालाई निकुञ्ज प्रशासनले गम्भिर रुपमा लिएर मृतकका श्रीमानलाई वन संरक्षण सम्बन्धी काममा रोजगारी दिलाउने र आश्रित बालबच्चाको पढाई लेखाईका लागि छात्रवृतिको दिने योजना पनि बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here