काठमाडौं । तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको निधन भएको हेलिकप्टर दुर्घटनाको जाँच आयोगले प्रतिवेदन अझै आउन सकेको छैन ।
जाँच आयोगले हाल काम गरिरहेको तर प्रतिवेदन तयार हुन एक महिना लाग्ने बताएको छ ।
जाँच आयोगका अध्यक्ष यज्ञप्रसाद गौतमले हेलिकप्टर निर्माता कम्पनीले छानविनमा सहयोग पुग्ने ‘अब्जरभेसन’ दिने हुनाले उसको पर्खाइमा रहेको बताएका छन् । विधि विज्ञान प्रयोगशालाबाट भित्री अङ्गको प्रतिवेदन आउन बाँकी रहेकोले प्रतिवेदन तयार हुन अझ समय लाग्ने भएको हो ।
दुर्घटनामा परेको ‘सिंगल इन्जन एयरबस हेलिकप्टर एच १२५’ फ्रान्सस्थित यूरोकप्टर र एरोस्पटाइलले निर्माण गरेको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको दुर्घटना छानविन सम्बन्धमा यान्त्रिक अवस्था, सञ्चालन र मौसमको अवस्था, मानव चालक र उडान गतिविधिलाई समेटेर तयार गरेको मापदण्डलाई ध्यानमा राखेर प्रतिवेदन तयार गरिने आयोगले जनाएको छ ।
फागुन १५ गते एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङ्गको सिस्नेभीरमा दुर्घटना हुँदा मन्त्री अधिकारीसहित उहाँका अंगरक्षक अर्जुन घिमिरे, प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र कुमार श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरयाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा र पाइलट प्रभाकर केसीको निधन भएको थियो ।
ईश्वरचन्द्र झा