रौतहट । सर्लाही र रौतहटलाई सिन्धुली र मकवानपुरसँंग जोड्न बागमती नदीमा मोटरबोट सञ्चालनमा आएको छ ।
रौतहटको नुनथरदेखि मकवानपुरको पँधेरे दोभान आवतजावत गर्न एक जना यात्रीले मोटरबोट चढेबापत १५० रुपियाँ भाडा लाग्ने गरेको छ ।
स्थानीय पर्यटन प्रवद्र्धन तथा जनताको दैनिकी सहज बनाउन मोटरबोट सञ्चालनमा आएको हो । यद्धपी नेपालले पछिल्लो पटक भारतहुँदै समुन्द्रसँग नेपाललाई जोड्ने महत्वकांक्षी योजना अघि सारेको बेला स्थानीय स्तरमा मोटरबोट सञ्चालनमा आएको छ ।
प्रतिनिधिसभा अर्थसमितिका सभापति सांसद् कृष्णप्रसाद दाहाल (मकवानपुर) को पहलमा मोटरबोट सञ्चालनमा आएको हो । हाल यो परीक्षण सञ्चालनमा छ । रौतहटको पर्यटकीय स्थल नुनथरदेखि मकवानपुरको राईगाउँसम्म मोटरबोट चलाउने लक्ष्य लिइएको छ ।
अहिले नुनथरदेखि उत्तर करिब डेढ किलोमिटर दुरीमा रहेको पँधेरे दोभानसम्म डुंगा चलाइएको बागमति जल उपभोक्ता समूहका संयोजक गौतम खड्काले बताउनुभयो । चितवनको नारायणी नदीमा चलेको चालकसहीत ११ यात्रु बोक्ने उक्त डुंगा प्रति महिना दुई लाख रुपियाँ भाडामा ल्याएको हो ।