प्राधिकरणलाई करिब ७ अर्ब थप आम्दानी

काठमाडौं । नेपाल विद्युत प्राधिकरण प्राधिकरणले चुहावट नियन्त्रणबाट वार्षिक करिब ७ अर्ब रुपियाँ थप आम्दानी गरेको दावी गरेको छ ।
चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो पाँच महिनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा झारेको दावी गरेको प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५मा प्रणालीमा औसत २०.४५ प्रतिशत रहेको विद्युत् चुहावट चालु आर्थिक वर्षको पाँच महिनामै १५.४५ मा झरेको प्राधिकरणले जनाएको छ । चालु आवमा विद्युत् चुहावट १८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो ।

प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सब स्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि देशभरी रुपमा चालिएका कदमले विद्युत् चुहावटमा उल्लेख्य कमी आएको दावी गर्नुभयो ।
२०७३ भदौमा आफूले जिम्मेवारी सह्माल्दा विद्युत् चुहावट औसतमा २५.७८ प्रतिशत रहेकोमा आव २०७३÷७४ मा २२.९ र आव ०७४÷७५मा २०.४५ मा झारिएकोमा चालु आवको पाँच महिनामै १५.४५ प्रतिशतमा सीमित गर्न सफल भएको दावी गर्नुभयो । काठमाडौं क्षेत्रीय कार्यालयको गत वर्षको चुहावट ७.९४ प्रतिशत रहेकोमा चालु आवको पाँच महिनामा घटेर ७.७९ प्रतिशतमा सीमित भएको जनाइएको छ । प्राधिकरणका अनुसार क्षेत्रीय कार्यालय अन्तर्गतको भक्तपुर वितरण केन्द्रको चुहावट दुई वर्षअघि करिब ४० प्रतिशत रहेकोमा अहिले घटेर १३.७२ प्रतिशतमा झरेको छ । लगनखेल वितरण केन्द्रको दुई वर्षअघि करिब १५ प्रतिशत रहेको चुहावट अहिले घटेर ६.४१ मा सीमित भएको छ ।
हेटौडा क्षेत्रीय कार्यालयको चुहावट १३.९१ प्रतिशत रहेकोमा घटेर ६.६६ प्रतिशतमा झरेको छ । गत असारसम्म १०.७२ प्रतिशत रहेको चुहावट मंसिरम्ममा घटेर २.५०मा झरेको छ । झण्डै ७० प्रतिशत चुहावट रहेको कलैया वितरण केन्द्रको अहिले घटेर ३९.९५ प्रतिशतमा झरेको छ ।
त्यस्तै पोखरा क्षेत्रीय कार्यालयको चुहावट ११.४१ प्रतिशत रहेकोमा घटेर ८.६१ प्रतिशतमा सीमित राख्न प्राधिकरण सफल भएको छ । विराटनगर क्षेत्रीय कार्यालयको चुहावट १४.५१ प्रतिशत रहेकोमा घटेर ११.६१ प्रतिशतमा झरेको छ । यसैगरी १४.१४ प्रतिशत चुहावट रहेको बुटवल क्षेत्रीय कार्यालयको चुहावट १३.२८ प्रतिशतमा झरेको छ । जनकपुरको ३४.३६ प्रतिशतबाट घटेर २६.२४ प्रतिशत, नेपालगंजको १५.८४ प्रतिशतबाट ९.७२ प्रतिशत र अत्तरिया क्षेत्रीय कार्यालयको चुहावट १५.२९ प्रतिशतबाट घटेर १२.१९ प्रतिशतमा झरेको दावी प्राधिकरणको छ ।
प्रधिकरणले प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सब स्टेसनको सुदृढीकरण गर्ने तथा नयाँ बनाउने लगायतका काम अभियानकै रुपमा चलाइ रहेको छ । प्राधिकरणले दुई वर्षमा ५ हजार थान ट्रान्सफर्मर थप गरेको छ भने अगामी एक वर्षमा थप १० हजार थान थप्ने लक्ष्य राखी काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here