काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले आफुले श्रीमतिको नाउँमा दर्ता भएको जग्गा बिक्री गरेर आएको पैसाले बालुवाटारको जग्गा खरिद गरेको दावी गर्नुभएको छ ।
महासचिव पौडेलले शुक्रवार एक विज्ञप्ति मार्फत यस्तो दावी गर्नुभएको हो । विज्ञप्तिमा भनिएको छ, आफूले २०६१ असोज २४ गते नवलपरासी जिल्लाको बर्दिघाट नगरपालिका वडा नं १० (साविक तिलकपुर गाउँ विकास समिति, वडा नं ३) मा पूर्व–पश्चिम राजमार्ग नजिकै श्रीमतीको नाममा रहेको आठ कठ्ठा जग्गा बिक्रीको पैसाबाट काठमाडौँ महानगरपालिका–४, बालुवाटारस्थित उक्त आठ आना जग्गा विसं २०६४ मा किनेको हुँ ।
वर्तमान सरकारले अघि बढाएको सरकारी तथा सार्वजनिक सम्पत्तिको खोजी तथा छानविन कार्य गर्न आग्रह गर्नुभएको छ । महासचिव पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा सरकारी तथा सार्वजनिक सम्पत्तिको खोजी गर्ने, प्राप्त गर्ने, संरक्षण गर्ने र राष्ट्रको हितमा सदुपयोग गर्ने कार्यलाई तीव्र गतिमा अघि बढाइरहेको र सरकारको सो कार्यलाई सहयोग पु¥याउन आग्रह गर्नुभएको छ ।
“सार्वजनिक जग्गा राज्यका सम्बन्धित संयन्त्र परिचालित भएका छन्, खोजी तथा छानविनका कार्य भइरहेका छन्, गैरकानूनीरुपमा दर्ता भएको जग्गाको दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न, गैरकानूनीरुपमा जग्गा दर्ता गर्ने कार्यमा संलग्न व्यक्तिलाई कानूनबमोजिम कारवाही गर्नुपर्छ”।
विज्ञप्तिमा भनिएको छ, “सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने प्रणालीलाई सुदृढ बनाउन वर्तमान सरकारले सञ्चालन गरिरहेको अभियानलाई सहयोग पु¥याउनु राज्यको औपचारिक र आधिकारिक निकायबाट यथाशीघ्र छानविन होस् ।”
विज्ञप्तिमा २०६१ पुस २९ गते काठमाडौँ महानगरपालिका वडा नं ४, बालुवाटारस्थित उक्त आठ आना जग्गाको दर्ता स्रेस्ता सम्बन्धित मालपोत कार्यालयमा बिक्री गर्ने व्यक्ति उमा ढकाल र माधवी सुवेदीको नाममा कायम रहेको र प्रचलित कानूनबमोजिम सम्बन्धित कार्यालयले खरीद बिक्री गर्न मिल्ने यकिन गरी लिखत पारित गरी लाग्ने राजस्व लिइ छोरा नवीन पौडेलको नाममा पास गरिदिएकोसमेत उल्लेख छ ।