सरकारले विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रणका लागि जेठ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ ५ गतेसम्म पुर्याएको हो।
कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढ्दै गएपछि लकडाउनको समय बढाएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
त्यसै गरी सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान मे १५ अर्थात् जेठ २ गतेसम्म बन्द गर्ने यस अगाडि नै निर्णय गरिसकेको छ। सरकारले पछिल्लोपटक थपेको १० दिने लकडाउन बिहीबार अर्थात वैशाख २५ गते सकिदै छ। संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै मंगलबार बसेको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन थप्न सुझाव दिएको थियो।
सरकारले मे ३१ अर्थात जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले बताए। उनका अनुसार सीमा नाका पनि जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।