सामाजिक सञ्जालसँग असन्तुष्ट प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले सरकारका बारेमा सामाजिक सञ्जालमा गरेका टिप्पणीहरुप्रति असन्तुष्टि जनाएका छन् ।

लकडाउनका समय दोस्रो पटक थपिएकै दिन देशबासीलाई मंगलबार सम्बोधन गर्दा उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । उनले सम्बोधनका क्रममा भनेका छन्, सरकारले गरेका राम्रा कामको पनि सामाजिक सञ्जाल र मिडियाले राम्रो देख्न सकेन । सामाजिक सञ्जालमा आएका कुरा सरकारप्रतिका गलत प्रचारबाजी भएको उनले दावी गरेका छन् ।

राष्ट्रिय संकट परिरहेका बेला चीनबाट ल्याइएका गुणस्तरहित स्वास्थ्य सामग्री र ती सामग्री ल्याउँदा हुन थालेको भ्रष्टाचारका विषयमा सामाजिक सञ्जाल र नेपाली मिडियाले चर्काे आवाज उठाउँदा चीनबाट रातारात ल्याएका गुणस्तरहित सामानको ठेक्का रद्ध गरिएको थियो ।

सामाजिक सञ्जालमा राष्ट्रिय संकटका बेला पनि सरकारका मन्त्रीले दलालहरुसँग मिलेर भ्रष्टाचार गर्न खोजेको भन्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र उपप्रधानमन्त्री ईश्वर पोखरेलको नैतिकताका आधारमा राजीनामा माग गरिएको थियो । पोखरेल र ढकालबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता गरिएको छ भने राष्ट्रिय संकटका घडीमा पनि गलत नियतले काम गर्ने मन्त्रीद्धयलाई कारवाहीको माग राख्दै मुद्धा दायर गरिएको थियो ।

चीनबाट ल्याउने सामग्री अनियमितता सञ्जालमा उपप्रधानमन्त्री पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालका पुत्रद्धय, स्वास्थ्य मन्त्री ढकालको संलग्नता रहेको समाचार एक अनलाइनबाट हटाउन लगाएको घटनाले पनि सामाजिक सञ्जालमा चर्काे आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here