भकुण्डो भो पश्चिमसेती जलविद्युत् आयोजना

डोटी । झण्डै तीन दशक देखि निर्माण हुने चर्चा रहेको पश्चिम सेती जलविद्युत् आयोजना हालसम्म पनि बन्न नसक्दा स्थानीय तहमा विकास निर्माणका गतिविधि ठप्प भएका छन् भने स्थानीय बासिन्दामा निराशा छाउँदै गएको छ ।

भारत निर्यात गर्न सकिने तथा आन्तरिक खपतका लागि निकै लोभ लाग्दो आयोजना सरकारले भकुण्डो खेलाए जस्तै गरेर कहिले कुनै देशले त कहिले कुनै देशको जिम्मा लगाउन थालेपछि यसको निर्माणको अन्यौलता अझै समाप्त भइसकेको छैन ।

स्थानीय टेकबहादुर रोकायाले भन्नुभयो, “पश्चिमसेती बन्छ भनेर हामीलाई खाली सपनामात्रै देखाइन्छ, कसले बनाउने टुङ्गो नै लागेको छैन, नेताको मागी खाने भाँडो भयो पश्चिमसेती ।” निर्माणकार्य कसले गर्ने भन्ने ठोस निर्णय नहुँदा यो आयोजना ‘एकादेशको कथा’ बन्नसक्ने भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रुपमा लिइएको ७५० मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा राज्यबाट ठोस पहल नभएको भन्दै स्थानीयवासीले गुनासोसमेत गरेका छन् ।

यो आयोजना बने लोडसेडिङको मार खेपिरहेका जनतालाई अधिकतम लाभ र राहत दिनेमात्र होइन, वर्षौँदेखि पिछडिएका, राज्यको मूलधारबाट समेत उपेक्षित जनतालाई लाभ पुग्ने दिपायलका काङ्ग्रेस नेता घनश्यामदत्त पाठकले बताउनुभयो ।

त्यस्तै आयोजनाको विषयमा कुनै टुङ्गो नलाग्दा आफूहरु दुःखी भएको डोटीको लाटामाडौँका स्थानीय प्रेमबहादुर बलायरले बताउनुभयो । उहाँले भन्नुभयो, “परियोजना बन्ने हल्ला चलेको तीन दशक भइसकेको छ, अहिलेसम्म सामान्यबाहेक केही काम भएको छैन, खै कहिले बन्ला, सपनामै रहने भो पश्चिमसेती ।”

पश्चिम सेती बन्ने हल्ला शुरु भएको समयमा जन्मेका मानिसलाई केही वर्षमै बुढ्यौली उमेरले छुँदैछ, तर पश्चिमसेती बन्ने हल्ला हल्लामै मात्र सीमित छ । स्थानीयवासी ‘थ्री गर्जेज’सँगको प्रारम्भिक सम्झौतापछि पनि आयोजना सम्पन्न हुनेमा विश्वस्त हुननसकेको अर्का स्थानीय डिलबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “जतिपटक सम्झौता भयो, उतिपटक खारेज हुन्छ, के काम सम्पन्न होला र ।”

निर्माणका लागि उचित र उपयुक्त वातावरण सिर्जना गरी राजनीतिक नाफाघाटा नहेरी विवादरहित ढङ्गले काम शुरु गर्नुपर्ने स्थानीयवासीको माग छ । पश्चिमसेती बन्ने हल्लापछि अहिले ड्यामसाइट तथा प्रभावित क्षेत्रमा सरकारी राहत पाउने आशामा जग्गाको कारोवार अधिक बढेको स्थानीयवासी बताउँछन् ।

उता नेपाल सरकारले आफ्नै लगानीमा उक्त जलाशययुक्त पश्चिमसेती निर्माण गर्ने दावी गरे पनि सरकारले निर्माण गर्ने कुरामा कुनै विश्वास नभएको आर्दश गाउँपालिकाका नेविसङ्घका विद्यार्थी नेता गोविन्द खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले पश्चिमसेती बनाउँछ भन्नु मूर्खता हो, विदेशी ठूला कम्पनीले हात नहालुञ्जेल पश्चिमसेती बन्दैन ।”

जलाशययुक्त पश्चिमसेती निर्माण गर्न चिनियाँ कम्पनी ‘थ्री गर्जेज’ तलारा आएर विभिन्न संरचना निर्माण गर्दा पश्चिमसेती बन्छ भनेर खुशी र ढुक्क भएका यहाँका स्थानीयवासी थ्री गर्जेजले पश्चिमसेती नबनाउने भन्दै आफ्ना उपकरण लगेर गएसँगै निराश बनेका हुन् । पश्चिमसेती जलविद्युत् आयोजनाका नाममा वर्षेनी डोटीलगायत सुदूरपश्चिममा राजनीति हुन थालेको भन्दै यहाँका स्थानीयवासी नेताप्रति आक्रोशित हुन थालेका छन् । यहाँका स्थानीयवासी भन्छन्, “सक्छौ पश्चिमसेती बनाऊ, नसक्ने भए पश्चिमसेतीमा राजनीति नगर ।”

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here